२०८३ आश्विन २७, मंगलबार
24 खबर अपडेट

संविधान र राष्ट्रियताको रक्षाका लागि स्थानीय तहमा एमालेले जित्नुपर्छ : तिलक महत

२०८३ आश्विन २७, मंगलबार प्रकाशित (२ घण्टा अघि) ४२ पाठक संख्या

परासी,२७ असोज । नेकपा एमालेका केन्द्रीय सदस्य तिलक महतले संविधानको रक्षा र राष्ट्रियताको संरक्षणका लागि स्थानीय तहमा एमालेले जित्नुपर्ने बताउनुभएको छ ।
उहाँल पार्टीका नेता तथा कार्यकर्तालाई जनतामाझ पुगेर उनीहरूका भावना बुझ्न, समस्या समाधानमा पहल गर्न र पार्टीविरुद्ध फैलाइएका भ्रम चिर्न निर्देशन दिनुभयो ।
नेकपा एमाले सुनवल नगर कमिटी, नवलपरासीद्वारा आयोजित विस्तारित बैठक, शुभकामना आदानप्रदान तथा ‘मिसन पार्टी जागरण अभियान’ कार्यक्रमलाई सम्बोधन गर्दै महतले यस्तो बताउनुभएको हो ।
नेता महतले वर्तमान सरकारप्रति असन्तुष्टि व्यक्त गर्दै सरकारको कार्यशैलीले देशको भविष्यप्रति चिन्ता बढाएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो , “वर्तमान सरकार रहिरहे देश नरहने स्थिति आउँदै छ,हिजो घण्टीमा भोट हाल्न लगाउने आफ्ना सन्तान र आफन्तलाई सम्झाऔँ ।”
उहाँले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै अहिलेदेखि नै जनताको बीचमा जान, उनीहरूका समस्या सुन्न र समाधानका लागि पहल गर्न कार्यकर्तालाई आग्रह गर्नुभयो । पार्टीका जनसंगठनलाई सक्रिय रूपमा परिचालन गर्दै जनतासँगको सम्बन्ध बलियो बनाउनुपर्ने उहाँको भनाइ थियो ।
एमालेमाथि विभिन्न आरोप लगाइएको र पार्टीको योगदानविरुद्ध प्रहार भइरहेको उल्लेख गर्दै महतले पार्टीका नेता तथा कार्यकर्ताले ती आरोपको तथ्यसहित प्रतिवाद गर्न नसकेको स्वीकार गर्नुभयो । सामाजिक सञ्जालमा आएका सबै सामग्री सत्य नहुने भन्दै उहाँले भ्रममा नपर्न र सत्यतथ्य बुझेर मात्रै धारणा बनाउन आग्रह गर्नुभयो ।
“एमालेमाथि लगाइएका आरोप जनतालाई बुझाउन सकेनौँ,पार्टीप्रति फैलाइएका भ्रम चिर्न आवश्यक छ,” उहाँले भन्नुभयो।
पुराना राजनीतिक दल भ्रष्ट र नयाँ राजनीतिक शक्ति मात्रै राम्रो भन्ने भाष्यसमेत सत्य नभएको महतको तर्क थियो । देश र राष्ट्रियताका लागि एमालेले पुर्‍याएको योगदान जनतामाझ स्पष्ट रूपमा राख्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रम नेकपा एमाले सुनवल नगर कमिटीका अध्यक्ष मुक्ति बहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा एमाले केन्द्रीय सदस्यद्वय विमला अर्याल,लक्ष्मी क्षेत्री, लुम्बिनी प्रदेश सदस्यद्वय थानप्रसाद गैरे, सूर्यप्रसाद न्यौपाने, जिल्ला उपाध्यक्ष डोलराज भण्डारी तथा जिल्ला सचिव राजनकुमार आचार्यलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको एमाले सुनवल नगर सहसचिव मोहन बुढाथोकीले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


↑