२०८३ आश्विन २३, शुक्रबार
24 खबर अपडेट

सरावल र पाल्हीनन्दनमा रास्वपाको ‘हामी आउँदै छौँ’ अभियान

२०८३ आश्विन २३, शुक्रबार प्रकाशित (६ घण्टा अघि) ३२ पाठक संख्या

परासी, २३ असोज । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सञ्चालन गरेको ‘हामी आउँदै छौँ’ अभियानअन्तर्गत पश्चिम नवलपरासीको सरावल र पाल्हीनन्दन गाउँपालिकामा छुट्टाछुट्टै अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
अभियानका लागि जिल्लामा खटिएका पार्टीका केन्द्रीय सदस्य आकांक्षा पोखरेल र सांसद मोहनलाल आचार्यको विशेष उपस्थितिमा आयोजित कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।
अन्तरक्रियामा सहभागीहरूले पार्टीको आगामी रणनीति, स्थानीय तहमा पार्टीको भूमिका तथा जनताका दैनिक समस्याको समाधानका विषयमा जिज्ञासा राखेको रास्वपा सरावलका सभापति वीरेन्द्र यादवले जानकारी दिनुभयो । स्थानीयस्तरमा देखिएका विकासका चुनौती र नागरिकका अपेक्षालाई राजनीतिक एजेन्डासँग जोड्नुपर्ने विषयमा समेत छलफल केन्द्रित रहेको उहाँले बताउनुभयो ।
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा रास्वपाले पालिकास्तरमै नेता–कार्यकर्तासँग संवाद र अन्तरक्रियालाई प्राथमिकता दिनुलाई आफ्नो संगठन विस्तार तथा चुनावी तयारीसँग जोडेर हेरिएको छ । ‘हामी आउँदै छौँ’ अभियानमार्फत पार्टीले स्थानीय राजनीतिक अवस्था बुझ्ने, कार्यकर्ताको धारणा संकलन गर्ने र पालिकाका मुद्दाबारे छलफल गर्ने प्रयास गरेको रास्वपाका जिल्ला सभापति रबी पाण्डेयले दैनिक24 खबर डटकमलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार अभियानलाई जिल्लाका सातै पालिकामा सञ्चालन गरिनेछ । जसअनुसार शनिबार रामग्राम, प्रतापपुर र सुस्तामा तथा आइतबार सुनवल र बर्दघाटमा अभियान सञ्चालन हुनेछ । जिल्लाका विभिन्न पालिकामा सञ्चालन हुने अभियानले स्थानीयस्तरमा पार्टीको उपस्थिति र संगठनात्मक सक्रियता बढाउने अपेक्षा गरिएको सभापति पाण्डेयले बताउनुभयो ।

उक्त अवसरमा रास्वपा लुम्बिनी प्रदेशका सहमहामन्त्री विक्रम पौडेल, प्रदेश सदस्य युवराज ढकाल, जिल्ला उपसभापति रामप्रसाद अर्याल लगायतका नेताहरुको पनि सहभागिता थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


↑