

परासी, २६ भदौ । राष्ट्रिय पाठ्यक्रम प्रारूपलाई समयसापेक्ष र व्यवहारिक बनाउने उद्देश्यले लुम्बिनी प्रदेशमा सुझाव संकलन गरिएको छ।
पाठ्यक्रम विकास केन्द्रको देशव्यापी अभियानअन्तर्गत रुपन्देहीको तिलोत्तमास्थित प्याब्सन रुपन्देहीको सभाहलमा एकदिने राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन सुझाव संकलन कार्यशाला सम्पन्न भएको हो। कार्यशालामा सहभागी शिक्षक, विद्यार्थी, अभिभावक तथा शिक्षासँग सम्बन्धित सरोकारवालाले वर्तमान पाठ्यक्रमलाई व्यवहारिक, जीवनोपयोगी, स्थानीय आवश्यकता र परिवेशअनुकूल बनाउनुपर्नेमा जोड दिएका थिए ।
कार्यशाला प्याब्सन लुम्बिनी प्रदेशका कार्यवाहक अध्यक्ष धनराज चापागाइको अध्यक्षता तथा प्याब्सन केन्द्रीय सहअध्यक्ष गोपाल आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेश पौडेलले कार्यशालामा विशेष सहजीकरण गर्नुभएको थियो।
कार्यक्रममा प्याब्सन केन्द्रीय सहअध्यक्ष आचार्यले पाठ्यक्रममा सैद्धान्तिक ज्ञानलाई मात्र प्राथमिकता दिनुभन्दा भूगोल, माटो र स्थानीय परिवेश सुहाउँदो व्यावहारिक ज्ञानलाई जोड दिनुपर्ने बताउनुभयो। उहाँले बदलिँदो समय र समाजको आवश्यकताअनुसार विद्यार्थीलाई केवल परीक्षामुखी नभई जीवनमा प्रयोग गर्न सकिने ज्ञान, सीप र दक्षता प्रदान गर्ने गरी पाठ्यक्रम विकास गर्नुपर्ने धारणा राख्नुभएको थियो ।
कार्यशालाबाट प्राप्त सुझावलाई समेटेर तयार पारिएको सुझावपत्र प्याब्सन लुम्बिनी प्रदेशका कार्यवाहक अध्यक्ष धनराज चापागाईले पाठ्यक्रम विकास केन्द्रको टोलीलाई हस्तान्तरण गर्नुभयो। सुझावपत्रमा पाठ्यक्रममा गर्नुपर्ने समग्र तथा विषयगत सुधारका विषय समेटिएको छ ।
कार्यशालामा प्याब्सन केन्द्रीय उपाध्यक्ष एवं लुम्बिनी प्रदेश इन्चार्ज टीकाराम न्यौपाने, शिक्षा विकास तथा समन्वय इकाइ रुपन्देहीका अध्यक्ष विष्णु पन्थी, शिक्षाविद् लोकनाथ उपाध्याय, डा. दामोदर भुसाल, अभिभावक संघ लुम्बिनी प्रदेश अध्यक्ष हेम थापा, अभिभावक संघ जिल्ला अध्यक्ष लोकनाथ ज्ञवालीलगायतले पाठ्यक्रम परिमार्जनका विषयमा सुझाव दिनुभएको थियो।
कार्यक्रममा प्याब्सन केन्द्रीय सल्लाहकार सुमन गोपाल आचार्य, प्रदेश सल्लाहकार शिव गैरे, केन्द्रीय सदस्यहरू सुन्दर पाण्डे र गुरुदत्त पौडेल, रुपन्देही प्याब्सन अध्यक्ष दीपक खनाल, कपिलवस्तु प्याब्सन अध्यक्ष धीरेन्द्र विक्रम सिंह, प्रदेश कोषाध्यक्ष महेश भुर्तेल, प्रदेश सदस्यहरू मणिरत्न भण्डारी र डीबी थापालगायत विभिन्न जिल्लाका प्याब्सन पदाधिकारी तथा सदस्यहरूको सहभागिता थियो।

पाठ्यक्रम विकास केन्द्रले देशका विभिन्न स्थानमा सरोकारवालासँग सुझाव संकलन गरी प्राप्त सुझावका आधारमा राष्ट्रिय पाठ्यक्रम प्रारूपलाई परिमार्जन गर्ने अभियान सञ्चालन गरिरहेको जनाएको छ। कार्यक्रमको सञ्चालन प्याब्सन लुम्बिनी प्रदेशका सचिव कृष्णप्रसाद शर्माले गर्नुभएको थियो।