बर्दघाट, १८ फागुन । बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता सँस्थाले उपभोक्ता सचेतना कार्यक्रम सम्पन्न गरेको छ । बर्दघाट नगरपालिका वडा नम्बर ४, नवलपरासीमा रहेको सँस्था अन्तर्गत खानेपानी सुरक्षा योजना टोलीको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
आयोजना क्षेत्रको शान्तिनगर र दिब्यनगर टोलका करिव १ सय २० उपभोक्ताको उपस्थिती रहेको कार्यक्रममा मुहान देखी मुखसम्म शुद्ध पिउने पानी कसरी उपलब्ध गराउने र उपभोक्ताले सँस्थाद्धारा वितरित खानेपानीलाई कसरी सुरक्षित उपभोग गर्ने भन्नेबारे उपभोक्तालाई सचेत गराइएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी बर्दघाट नगरपालिका वडा नम्बर ४ का वडासदस्य जनक रावलले सँस्थाले २४ सै घण्टा शुद्ध पिउने पानी उपलब्ध गराइ यस क्षेत्रका जनताको आधारभूत आवश्यकता पूर्तिमा अहम भूमीका खेलेको बताउनु भयो ।
सँस्थाका अध्यक्ष दिपक लम्सालले आयोजना क्षेत्रमा निरन्तर शुद्ध पिउने पानी उपलब्धता सँगै सँस्थाले सरसफाईको क्षेत्रमा पनि काम गरिरहेको र टोल टोलमा समेत कार्यक्रम गरि खानेपानीको महत्व सँगै सरसफाईको महत्वको बारेमा समेत सचेत गराउँदै काम गरिरहेको बताउनु भयो ।
सँस्थाका उपाध्यक्ष एवं खानेपानी सुरक्षा योजना टोलीका सँयोजक कमल थापा को अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै सँयोजक थापाले उपभोक्ताहरुलाई शुद्ध पिउने पानी उपलब्ध गराउने सँस्थाको दायित्व रहेको र उपलब्ध पानीलाई उपभोक्ताहरुले पनि सुरक्षित तवरले उपभोग गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
सँस्थाका ब्यवस्थापक विष्णु कुमार भुसालले सहजीकरण गर्नुभएको कार्यक्रममा दिब्यनगर टोल विकास सँस्थाका अध्यक्ष भिम बहादुर राना, बँगलामुखी दुर्गा मन्दिरका अध्यक्ष श्रीधर भट्टराइ, मनिसरा मश्राङ्गी लगायतले पानी र सरसफाईको महत्वको बारेमा आ–आफ्नो धारणा राख्नु भएको थियो ।
खानेपानी सुरक्षा योजना टोलीले वार्षिक क्यालेण्डर निर्माण गरि आयोजना क्षेत्रभित्रका सबै टोलहरुमा सचेतना कार्यक्रम सम्पन्न गर्ने गरेको टोली सदस्य लक्ष्मी शर्माले जानकारी दिनुभयो ।
Pal1