२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

क्यानेडियन रेडक्रस र नेपाल रेडक्रसका प्रतिनिधिद्धारा नवलपरासीमा सञ्चालित परियोजनाको स्थलगत निरीक्षण

२०८१ भाद्र ३०, आईतबार प्रकाशित ( दिन अघि) २०३ पाठक संख्या

मोहन पौडेल
परासी,३० भदौ । क्यानेडियन रेडक्रसका प्रतिनिधि र नेपाल रेडक्रस सोसाईटीको संयुक्त टोलीले पश्चिम नवलपरासी जिल्लामा रेडक्रस मार्फत सञ्चालन भईरहेका क्रियाकलापहरुको स्थलगत अध्ययन अवलोकन गरेको छ । क्यानेडियन रेडक्रसकी एसिया प्रशान्त प्रमुख कार्ला टेयालर र नेपाल रेडक्रस सोसाईटीका केन्द्रीय अध्यक्ष प्राध्यापक सुदर्शनप्रसाद नेपालसहितको टोलीले आज पश्चिम नवलपरासीको रामग्राम नगरपालिका र सरावल गाउँपालिकामा रेडक्रस मार्फत सञ्चालन भईरहेका क्रियाकलापको प्रभाव र उपलब्धीका विषयमा स्थलगत अध्ययन तथा निरीक्षण गरेको हो ।
क्यानेडियन रेडक्रसको सहयोग नेपाल रेडक्रस सोसाईटी नवलपरासीले जिल्लामा हाल दुई वटा परियोजना सञ्चालन गरिरहेको छ । रामग्राम र सरावलमा समुदाय स्तरीय बृहत स्वास्थ्य परियोजना(सिसीबीएचपी) र सुस्ता गाउँपालिकामा जलवायु प्रतिरोधी स्वास्थ्य प्रणाली सुदृढीकरण परियोजना सञ्चालनमा रहेको परियोजनाका संयोजक अनुप खड्काले जानकारी दिनुभयो । सिसीबिएचपी परियोजना समापनको अवस्थामा छ भने जलवायु प्रतिरोधी स्वास्थ्य प्रणाली सुदृढीकरण परियोजना मार्च २०२५ मा सञ्चालनमा रहने उहाँले बताउनुभयो । खड्काले दुवै परियोजना मार्फत भईरहेका गतिविधिहरुको बारेमा जानकारी गराउनुभएको थियो ।
क्यानेडियन रेडक्रस र नेपाल रेडक्रस सोसाईटकीको केन्द्रीय टोलीले सिसीबिएचपी परियोजना अन्तरगत क्रियाकलापको रामग्राम र सरावलका विभिन्न स्थामा स्थलगत निरीक्षण गरेको हो । रामग्रामस्थित रेडक्रस जिल्ला शाखामा दुवै परियोजनाको बारेमा स्थानीय सरकारका प्रमुखसहित छलफल गरिएको थियो भने पट्खौलीमा स्थानीयसँग अन्तरक्रिया गरिएको थियो । यसैगरी सरावलको मनरी स्वास्थ्य चौकीमा रेडक्रस मार्फत सहयोग गरिएका र भईरहेका क्रियाकलापको अवस्थाको अनुगमन गरिएको थियो । सरावलका स्थानीयले जावास्थित ककरपत्त नगरमा केन्द्रीय टोलीको सम्मानमा स्थानीय पराम्परागत नृत्य मार्फत स्वागत गरेका थिए भने डेंगु रोग सम्बन्धि सडक नाटक पनि प्रदर्शन गरिएको थियो ।
रेडक्रस मार्फत भईरहेको गतिविधिहरु प्रभावकारी देखिएको क्यानेडियन रेडक्रसकी एसिया प्रशान्त प्रमुख टेयालरले प्रतिक्रिया दिनुभयो । यस्तै नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष नेपालले मानवीय सेवामा समर्पित रेडक्रसका गतिविधिले नागरिकको मन जित्नुपर्ने बताउनुभयो । रेडक्रसले सञ्चालन गरिरहेका परियोजनाबाट समुदायमा साना साना कुराहरुमा पनि ठूलो परिवर्तनहरु देखिएको बताउँदै रेडक्रसको अभियानमा सहयोग पुर्याउने स्थानीय सरकारलाई पनि धन्यवाद व्यक्त गर्नुभयो । समुदायमा भईरहेका कार्यहरु प्रभावकारी हुँदै गईरहेको बताउँदै उहाँले आगामी दिनमा पनि गुणस्तरलाई जोड दिएर उपलब्धी प्राप्तिमा लाग्न आग्रह गर्नुभयो ।
नेपाल रेडक्रस सोसाईटी नवलपरासीका सभापति राजेन्द्रप्रसाद अग्रहरीले रेडक्रसले सञ्चालन गरिरहेका परियोजनालाई सफल बनाउन स्थानीय सरकारबाट राम्रो सहयोग पाएको बताउँदै जिल्लावासीलाई निःशुल्क रगत उपलब्ध गराउने कार्यमा पनि स्थानीय सरकारको योगदान महत्वपूर्ण रहेको बताउनुभयो ।
उक्त अवसरमा रामग्राम नगरपालिकाका प्रमुख धनपत यादव र सरावल गाउँपालिकाका अध्यक्ष सुखाडिप्रसाद चौधरीले रेडक्रसले अगाडि बढाएका कार्यहरुले समुदायमा राम्रो प्रभाव पारेको बताउँदै नागरिकको स्वास्थ्य क्ष्ँोत्रमा रेडक्रसले गर्ने हरेक कार्यमा स्थानीय सरकारसँगै रहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । अनुगमन टोलीमा क्यानेडियन रेडक्रसका क्षेत्रीय स्वास्थ्य कार्यक्रम व्यवस्थापक रमेश न्यौपाने,नेपाल रेडक्रस सोसाईटी केन्द्रीय कार्यालय स्वास्थ्य विभागकी निर्देशका मोना अर्याल, रेडक्रस लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद पंगेनी एवं रेडक्रसका जिल्ला पदाधिकारीहरुको पनि सहभागिता थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस