२०८३ बैशाख २५, शुक्रबार
24 खबर अपडेट

रामग्राम स्तूप परिसरमै मदिराको व्यापार,सरोकार निकाय मौन

२०८१ भाद्र २४, सोमबार प्रकाशित ( साल अघि) ४३८ पाठक संख्या

परासी, २४ भदौ । भगवान् गौतम बुद्धको अस्थिधातु रहेको स्थल रामग्राम स्तूप परिसरमा अवैध रुपमा मदिराको व्यापार भईरहेको भन्दै नागरिक समाजले आपत्ति जनाएको छ । शान्तिक्षेत्रलाई भंग हुने गरि स्तूप परिसरमै मदिराको व्यापार हुँदा अन्र्तराष्ट्रिय स्तरमै नकारात्मक सन्देश जाने नागरिक समाजको दाबी छ ।
रामग्राम नगरपालिका वडा नं.७ स्थित रामग्राम स्तूपको परिसर पूर्वतर्फ शौचालय नजिकै अनाधिकृत रुपमा टहरा निर्माण गरि मदिरा लगायतको व्यापार भईरहेको भन्दै नागरिक समाज नवलपरासीले तत्काल हटाउन माग गरेको हो । स्तूप क्षेत्रमा स्थानीय सरकारलाई समेत कुनै संरचना बनाउन नदिने पुरातत्व विभाग र लुम्बिनी विकास कोषले स्तूप परिसरमै टहरा बनाएर मदिराको कारोबार गर्दा पनि मुकदर्शक बनेको नागरिक समाजका अध्यक्ष राधेश्याम सिंह सैथवारले बताउनुभयो ।
स्तूपकै परिसरमा टहरासहितका संरचना बन्दा पनि रामग्राम नगरपालिका र लुम्बिनी विकास कोषले वेवास्ता गर्नुले शंका पैदा भएको उहाँको भनाई थियो । विश्वका बौद्ध धर्मावलम्बीहरुको तीर्थ स्थलको रुपमा रहेको रामग्राम स्तूप परिसरमा भईरहेको मदिरा विक्रीवितरण कार्यलाई तत्काल रोक्न समेत नागरिक समाजले माग गरेको छ ।
रामग्राम ७ देउरवाका एक स्थानीयले स्तूप नजिकै दुई वटा टहरा बनाएर मदिरासहितको व्यापार गरिरहेका छन् । यही भदौ महिनाको रक्षाबन्धनबाट व्यापार शुरु गरेका उनले चटपट,चाउमिन,वियर र घरपाला रक्सी बिक्री गर्दै आएको बताए । टहरा बनाएको जग्गा आफ्नो नम्बरी जग्गा भएको र लालपूर्जा पनि रहेको उनको दाबी थियो ।
यता लुम्बिनी विकास कोषले भने स्तूप क्षेत्रमा कुनै संरचना बनाउन र मदिराको व्यापार गर्न नपाईने भन्दै तत्काल हटाउने बताएको छ । कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले तत्कालै जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखि अवैध संरचना हटाउन र मदिराको व्यापार रोक्न लगाउने बताउनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस