२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

नवलपरासीको हकुईका पसलहरुमा भेटिएन मूल्यसूची, म्याद नाघेका र लेभल नभएका वस्तु जफत

२०८१ जेष्ठ ३१, बिहिबार प्रकाशित ( महिना अघि) २४३ पाठक संख्या

मोहन पौडेल
परासी, ३१ जेठ । पश्चिम नवलपरासीको हकुईमा सञ्चालित व्यवसायिक फर्महरुमा विक्री मूल्यसूची बिनै कारोबार गरेको पाईएको छ । संयुक्त जिल्ला बजार अनुगमन समितिले आज रामग्राम १६ हुकई क्षेत्रमा गरेको अनुगमनको क्रममा त्यहाँ सञ्चालित पसल तथा होटलहरुमा मूल्यसूची नभेटिएको हो ।
अधिकांश पसलहरुले व्यवसाय दर्ता गरेपनि लामो समयसम्म नवीकरण नगरेको, कतिपय पसल दर्ता बिनै सञ्चालनमा रहेको, दर्ता प्रमाणपत्र तथा मूल्यसूची देखिने गरि नराखेको लगायतका समस्या देखिएको घरेलु तथा साना उद्योग कार्यालय परासीका प्रमुख पुरुषोत्तम पौडेलले जानकारी दिनुभयो । मूल्यसूची नभएका पसलहरुलाई तत्काल मूल्यसूची राख्न लगाईएको छ भने नवीकरण नभएका तथा दर्ता नभएका पसलहरुलाई एक हप्ता भित्र सम्बन्धित निकायमा दर्ता नवीकरण गर्न निर्देश नगरिएको उहाँले बताउनुभयो ।
हाटेलका भान्साहरुमा सरसफाइको कमी भेटिएको थियो भने खाद्यन्न पसलहरुमा लेवल नभएका तथा म्याद नाघेका अखाद्य वस्तु तथा पेय पदार्थहरु जफत गरि नष्ट गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत अर्जुन प्रसाद रेग्मीले बताउनुभयो । अनुगमन गरिएका पसलहरुलाई सुधार गर्ने मौका दिईएको र आगामी दिनमा पुनः सोही कार्यहरु दोहोरिएमा कारवाहीको दायरामा लैजाने उहाँले बताउनुभयो । उपभोक्ताको हितलाई मध्य नजर गर्दै बजार अनुगमनलाई सचेतनामूलक र अटेरी गरे कडाईका साथ अगाडि बढाईने अनुगमन समितिले जनाएको छ । हकुई क्षेत्रका विभिन्न व्यापारिक फर्म तथा उद्योग गरि पन्ध्र वटा व्यवसायिक प्रतिष्ठानहरुको अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालयका उद्यम विकास सहजकर्ता मनोज चौधरीले जानकारी दिनुभयो । अनुगमनमा घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधि तथा पत्रकारको सहभागिता रहेको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस