२०८३ बैशाख २६, शनिबार
24 खबर अपडेट

पश्चिम नवलपरासीमा कोभिड–१९ विरुद्धको खोप अभियान पुनः सञ्चालन हुँदै

२०८० भाद्र २३, शनिबार प्रकाशित ( साल अघि) १३६९ पाठक संख्या

मोहन पौडेल
परासी, २३ भदौ । पश्चिम नवलपरासीमा कोभिड–१९ विरुद्धको खोप अभियान पुनः सञ्चालन गरिने भएको छ । यसअघि कुनै पनि खोपको मात्रा नलगाएका र मात्रा पूरा नगरेकाहरुका लागि लक्षित गरि पुनः खोप अभियान सञ्चालन गर्न लागिएको हो ।
जिल्लाका सातै पालिकामा यही भदौ २६ र २७ गते कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका प्रमुख ओमप्रकाश पन्थीले दैनिक ट्वान्टिफोर खबरलाई जानकारी दिनुभयो । बिरामी परेपछि मात्र उपचारको लागि जाने परिपाटी अन्त्य गर्दै सम्भावित स्वास्थ्य जोखिम आँकलन गरि नागरिकको बचावटका लागि खोप कार्यक्रम अभियानको रुपमा सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो ।
अहिले कोभिड संक्रमणको जोखिम कम भएकोले नागरिकले खोपको आवश्यकता महशुस गरेका छैनन् । खोपको महत्व समुदायमा कम हुँदै गएकोले खोप केन्द्रमा सेवा लिन आउनेको संख्या अत्यन्त न्यून रहेको पन्थीले बताउनुभयो । उहाँले सम्भावित जोखिमलाई मध्यनजर गर्दै यसअघि एकपटक पनि खोप नलाएका वा खोपको सबै मात्रा पूरा नगरेका नागरिकलाई आफ्नो नजिकको पालिकाका खोप केन्द्रमा गई खोप लगाउन आग्रह गर्नुभएको छ ।
स्वास्थ्य कार्यालयले जिल्लाका सातै पालिकामा खोप समन्वय समितिको बैठक तथा आवश्यक प्रचारप्रसार गरि खोप अभियान सञ्चालन गर्न आग्रह गरेको छ । “कोभिड खोपको महत्व कम हुँदै गएकोले पालिका स्तरीय खोप समन्वय समिति, वडा स्तरीय खोप समन्वय समिति र महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकाको अभिमुखीकरण गरि व्यापक रुपमा प्रचारप्रसार गर्दै यही भदौ २६ र २७ गते सबै स्वास्थ्य संस्थाहरु मार्फत अभियान सञ्चालन गर्न भनेका छौँ”, स्वास्थ्य कार्यालय प्रमुख पन्थीले भन्नुभयो ।
पाँच देखि ११ वर्ष उमेर समूहको बुस्टर मात्राको अभियानको लागि समेत सबै स्थानीय तहहरुलाई तयारी अवस्थामा रहनका लागि आवश्यक योजना बनाउन पनि कार्यालयले आग्रह गरेको छ । पश्चिम नवलपरासीमा कोभिड–१९ विरुद्धको खोपको पहिलो मात्रा १२ वर्ष वा सो भन्दा माथी उमेर समूहका १०१.१ प्रतिशतले, पूर्ण मात्रा ९९.८ प्रतिशतले, बुस्टरको पहिलो मात्रा ५६.६ प्रतिशतले र बुस्टरको दोस्रो मात्रा १०.४ प्रतिशतले लगाएका छन् । स्वास्थ्य कार्यालयका वरिष्ठ मलेरिया निरीक्षक देवीलाल पौडेलका अनुसार पहिलो मात्रा तीन लाख ४४ हजार ४३६ जनाले, पूर्ण मात्रा तीन लाख ३९ हजार ७७१ जनाले , बुस्टरको पहिलो मात्रा एक लाख ६५ हजार ३६५ जनाले र बुस्टरको दोस्रो मात्रा ३१ हजार ३० जनाले लगाएका छन् ।
जिल्लामा सबैभन्दा धेरै फाईजर र त्यसपछि क्रमशः कोभिडसिल्ड, भेरोसेल, एष्ट्रजेनिक र मोडेर्ना खोप लगाईएको छ । पटकपटक सञ्चालन गरिएको अभियानमा पनि केही व्यक्तिहरुले पहिलो मात्राको समेत खोप नलगाएको समेत अवस्था रहेकोले यो अभियानले पहिलो मात्रा लगाउन छुटेकालाई समेट्ने र दोस्रो, तेस्रो,चौँथो मात्रा नलगाउनेका लागि सहज हुने पौडेलले बताउनुभयो ।
पालिका अनुसार बर्दघाट नगरपालिकामा १२ वर्षदेखि माथि उमेर समूहका ६३ हजार ३१९ जनालाई खोप लगाउने लक्ष्य रहेकोमा पूर्ण मात्रा लक्ष्य भन्दा धेरै अर्थात ६४ हजार ४८० जनाले लगाएका छन् भने बुस्टरको पहिलो मात्रा २९ हजार ६२४ जनाले र बुस्टर दोस्रो मात्रा सात हजार ६९४ जनाले लगाएका छन् । बर्दघाटमा ३४ हजार ८५६ जनाले बुस्टरको पहिलो मात्रा र २१ हजार ९३० जनाले बुस्टरको दोस्रो मात्रा लगाउन बाँकी छन् ।
सुनवल नगरपालिकामा ६३ हजार ६२२ जनालाई खोप लगाउने लक्ष्य रहेकोमा लक्ष्य भन्दा बढी अर्थात ७२ हजार ७३५ जनाले पूर्ण मात्राको खोप लगाएका छन् भने बुस्टरको पहिलो मात्रा ३२ हजार २६२ जनाले र बुस्टरको दोस्रो मात्रा ५ हजार ८२४ जनाले लगाएका छन् । सुनवलमा बुस्टरको पहिलो मात्रा लगाउन बाँकी ४० हजार ४७३ तथा दोस्रो मात्र लगाउन बाँकी २६ हजार ४३८ जना छन् ।
रामग्राम नगरपालिकामा ६७ हजार ९५९ खोप लगाउने लक्षित संख्या मध्ये ६० हजार ४७२ जनाले पूर्ण मात्राको खोप लगाएका छन् । यस्तै बुस्टर पहिलो मात्रा २९ हजार ५८४ जनाले र दोस्रो मात्रा ४ हजार ६९६ जनाले लगाएका छन् । रामग्राममा ३० हजार ८८८ जनाले बुस्टरको पहिलो मात्रा र २४ हजार ८८८ जनाले दोस्र्रो मात्रा लगाउन बाँकी छ ।
पाल्हीनन्दन गाउँपालिकामा लक्षित समूहका ३३ हजार ७८१ जनालाई खोप लगाउने लक्ष्य अनुसार ३१ ह्जार १९ जनाले पूर्ण मात्राको खोप लगाएका छन् । यस्तै बुस्टरको पहिलो मात्रा १७ हजार ८७० जनाले र दोस्रो मात्रा एक हजार ३४७ जनाले लगाएका छन् । पाल्हीनन्दनमा बुस्टर पहिलो मात्रा १३ हजार १५९ जनाले र दोस्रो मात्रा १६ हजार ५२३ जनाले लगाउन बाँकी छ ।
सरावल गाउँपालिकामा लक्षित समूहका ३५ हजार २६६ लाई खोप लगाउने लक्ष्य मध्ये ३५ हजार १३ जनाले पूर्ण मात्राको खोप लगाएका छन् । यहाँ बुस्टरको पहिलो मात्रा १८ हजार ८१० जनाले र दोस्रो मात्रा चार हजार ४३७ जनाले लगाएका छन् भने १६ हजार २०३ जनाले बुस्टरको पहिलो मात्रा र १४ हजार ३७३ जनाले दोस्रो मात्रा लगाउन बाँकी छ । प्रतापपुर गाउँपालिकामा ४६ हजार १४२ जना लक्ष्य रहेकोमा पूर्ण मात्राको खोप ४३ हजार८८७ जनाले लगाएका छन् । यहाँ बुस्टरको पहिलो मात्रा २२ हजार ४२० र दोस्रो मात्रा ४ हजार ८४ जनाले लगाएका छन् भने बुस्टर पहिलो मात्रा लगाउन बाँकी २१ ह्जार ४६७ र दोस्रो मात्रा लगाउन बाँकी १८ हजार ३३६ जना रहेका छन् ।
यसैगरी सुस्ता गाउँपालिकामा ३४ हजार ३४७ लक्ष्यमा ३२ हजार १६५ जनाले खोपको पूर्ण मात्रा लगाएका छन् । यहाँ १४ हजार ७९५ जनाले बुस्टरको पहिलो मात्रा लगाएका छन् भने दुई हजार ९४८ जनाले दोस्रो मात्रा लगाएका छन् । यहाँ बुस्टरको पहिलो मात्रा लगाउन बाँकी १७ हजार ३७० र दोस्रो मात्रा लगाउन बाँकी ११ हजार ८४७ जना रहेको स्वास्थ्य कार्यालयका वरिष्ठ मलेरिया निरीक्षक पौडेलले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस