२०८३ बैशाख २७, आईतबार
24 खबर अपडेट

रामग्राम स्तूपको गुरुयोजना अघि बढाउँछु : प्रधानमन्त्री प्रचण्ड

२०८० बैशाख २२, शुक्रबार प्रकाशित ( साल अघि) १७७२ पाठक संख्या

मोहन पौडेल
परासी, २२ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चारवर्ष देखि थाँती रहेको रामग्राम स्तूपको गुरुयोजना अगाडी बढाउने बताउनुभएको छ । २५६७ औँ बुद्धजयन्तीको अवसरमा आज रामग्राम स्तूपमा आयोजित बुद्धजयन्ती समारोह एवं प्रथम धातु जात्रा तथा धातु पुजन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले ऐतिहासिक एवं पुरातात्विक महत्वको स्थल पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं. ७ मा अवस्थित रामग्राम स्तूपको विकासमा सरकारले ध्यान दिन नसकेको स्वीकार गर्नुभयो ।
लुम्बिनी विकास कोषले करिब सात अर्बको लागत अनुमानसहितको रामग्राम गुरुयोजना बनाई चार वर्ष अघि संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमा बुझाएको थियो । तर आवश्यक पहल र पहुँच नपुग्दा गुरुयोजना मन्त्रिपरिषद्बाट निर्णय हुन सकेको छैन् ।

R1

 

रामग्राममै आएर प्रधानमन्त्री प्रचण्डले उक्त गुरुयोजना अघि बढाउने आश्वासन दिनुभएको हो । उहाँले भन्नुभयो, “बुद्धको पवित्र अस्तुधातु रहेको रामग्राम स्तूप संसारका बौद्धधर्मावलम्बीहरुका लागि एकपटक पुग्नैपर्ने पवित्र स्थलको रुपमा रहेको छ,बुद्धसर्किटको पनि महत्वपूर्ण अंग भएकोले चार वर्ष अघि लुम्बिनी विकास कोषमार्फत मन्त्रालयमा रामग्रामको गुरुयोजना पेश भएको रहेछ,जसबाट यसको सम्बद्र्धन, संरक्षण तथा धार्मिक पर्यटनको विकासको दृष्टिकोणले र संसारभरिका बौद्धिस्टहरुलाई आकर्षित गर्ने खालको उक्त गुरुयोजना म अगाडि बढाउँदै छु, तपाईहरुलाई म विश्वास दिलाउन चाहन्छु, त्यसले रामग्राम र नेपालकै विकास र समृद्धिमा निकै ठूलो भूमिका खेल्नेछ”
केही वर्ष अघि नेपाल सरकारले गठन गरेको बृहत्तर लुम्बिनी विकास समितिको अध्यक्ष हुँदा पनि आफूले रामग्रामलाई पनि महत्वपूर्ण अंग बनाएर विकास गर्न पहल गरेको स्मरण गर्नुभयो । बुद्धको उत्खनन् नगरिएको अस्तुधातु रहेको रामग्राम स्तूप विश्वकै दुर्लभ स्तूपाको भएको चर्चा गर्दै प्रधानमन्त्री प्रचण्डले यति धेरै ऐतिहासिक महत्व बोकेको स्थल भएपनि सरकारले यसको उचित विकास गर्न नसकेको स्वीकार गर्नुभयो ।
उहाँले भन्नुभयो, “बुद्धसर्किटको महत्वपूर्ण अंग रामग्राम पनि हो, अन्य विकसित देशले यस्तो दुलर्भ र ऐतिहासिक महत्वको स्थान प्राप्त गरेको भए विकसित गरेर विश्वभरिका करोडौँ मान्छे आउने ठाउँ बन्ने थियो, तर हामी नेपालीहरु पछि परेको कारणले या हामीले समयमै यसको महत्व बोध गर्न नसकेको कारणले यति महत्वको ऐतिहासिक स्थल जसरी विकास गर्नुपर्ने थियो, त्यसरी विकास हुन सकेको छैन्”
कार्यक्रममा रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले लुम्बिनी विकाष कोषले महत्व नदिँदा ऐतिहासिक र पुरातात्विक महत्व भएर पनि रामग्रामको विकास हुन नसकेको बताउनुभयो ।
रामग्रामको विकासमा आफू निर्वाचित भएर आएदेखि नै गम्भीर भएर लागेको बताउँदै उहाँले भन्नुभयो, “लुम्बिनी विकास कोषले रामग्रामलाई ध्यान नदिएकोले रामग्राम नगरपालिकाले रामग्राम विकास कोष गठन गरेर रामग्राम स्तुप र कोलिय गणराज्यको राजधानी पण्डितपुरको विकासका लागि अघि बढ्न लागेको छ,रामग्रामको गुरुयोजना मन्त्रिपरिषद्मा पेश हुँदा पनि निर्णय भएको छैन्, म प्रधानमन्त्रीज्यूलाई पनि ध्यानाकर्षण गराउन चाहन्छु, लुम्बिनी विकास कोषले काम नगर्ने हो भने हामी रामग्राम विकास कोष गठन गरेर अघि बढ्छौँ, त्यसको कार्यविधि तयार भईसकेको छ र बुद्धसर्किटको कामलाई यथाशीघ्र अघि बढाउन पनि म आग्रह गर्दछु”

R2

 

बुद्धजयन्तीको अवसरमा रामग्राम नगरपालिकाले पहिलो पटक आज कोलिया धातु जात्रा तथा धातु पूजन गरेको छ । कोलिय गणराज्यको राजधानी एवं बुद्धको मावली पण्डितपुरबाट रामग्राम स्तुपसम्म रथयात्रासहित धातु जात्रा निकालिएको थियो । धातु जात्रामा नगरवासीको उल्लेख्य सहभागिता रहेको थियो ।

P1

 

धातु जात्रा अघि पण्डितपुरमा आयोजित कार्यक्रममा सहभागि जनप्रतिनिधिहरुले रामग्राम र पण्डितपुरको विकासमा एक भएर लाग्ने संकल्प गरेका थिए ।

P3

 

रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवको अध्यक्षता तथा प्रतिनिधिसभा सदस्य धुव्र बहादुर प्रधानको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा प्रदेशसभा सदस्य बैजनाथ जयसवाल, जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव, पूर्व शिक्षा राज्यमन्त्री गोविन्द चौधरी, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष गुणनिधि तिवारी, लुम्बिनी विकास कोषका सदस्य प्रकाश भट्टराई, रामग्राम नगरपालिकाकी उपमेयर सम्झना चौधरी, रामग्राम–१८ का वडा अध्यक्ष गोपाल दिस्वा मगर लगायतले सम्बोधन गर्नुभएको थियो ।

P2

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस