

परासी, १९ फागुन । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले खोला सरसफाइका लागि कार्यविधि बनाउन समिति गठन गरेको छ । गाउँपालिकामा आज सम्पन्न विपद् व्यवस्थापन समितिको बैठकले बाढी नियन्त्रणको पूर्व तयारीका लागि खोला सफाइ गर्न आवश्यक कार्यविधि बनाउन समिति बनाएको हो ।
गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुुप्ता(दीपक)को अध्यक्षतामा बसेको बैठकले गाउँपालिका उपाध्यक्ष फातिमा खातुन अन्सारीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको गरेको विपद् व्यवस्थापन फोकल पर्सन प्रदीप तिवारीले जानकारी दिनुभयो । बाढी नियन्त्रणका लागि झरही नदीमा जम्मा भएका शिल्ट सफाइ गर्न आवश्यक देखिएको र त्यसका लागि कार्यविधि बनाएर सफाइ अभियान चलाउने निर्णय भएको उहाँले बताउनुभयो । समितिले यसै महीना भित्र कार्यविधि बनाउने समय सीमा पाएको छ ।
यस्तै बैठकले पाल्हीनन्दन गाउँपालिकाको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७९ अनुसार यही फागुन २५ गते भित्रै सबै वडामा वडा स्तरीय विपद् व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको छ । यसैगरी विपन्न आवास कार्यक्रम कार्यान्वयन गर्न सूचना जारी गर्ने बैठकले निर्णय गरेको छ । बैठकमा उपाध्यक्ष अन्सारी, वडा अध्यक्षहरु, प्रमुख प्रशासकीय अधिकृत, प्रहरी, पत्रकार, सम्बन्धित शाखाका प्रमुखहरु लगायतको सहभागिता थियो ।
