

परासी, १९ फागुन । जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले सभ्य एवं सुरक्षित तवरले होली पर्व मनाउन आम सर्वसाधारणलाई अनुरोध गरेको छ।
कार्यालयले एक सन्देश जारी गरी होली पर्वलाई सभ्य, शिष्ट, स्वस्थकर र मर्यादित तवरले मनाउन सबैलाई अनुरोध गरेको हो। सहायक प्रमुख जिल्ला अधिकारी प्रकाश देवकोटाद्धारा जारी सन्देशमा होली पर्वको नाममा उच्छृङ्खल क्रियाकलाप नगर्न आग्रह गरिएको छ । कसैको इच्छाविपरीत रङ, लोला, केमिकल र फोहरपानी प्रयोग गरेमा कानूनबमोजिम कारबाही गरिने उहाँले बताउनुभयो ।
यसैगरी मादक पदार्थ तथा नसालु पदार्थ सेवन गरी सवारी चलाउने,सार्वजनिक ठाउँमा होहल्ला गर्ने तथा कुनै पनि व्यक्तिको निजी जीवनमा असर पर्ने कुनै पनि क्रियाकलाप नगर्न प्रशासनले अनुरोध गरेको छ । प्रशासनको अनुरोधलाई वेवास्ता गरि कानुन विपरीत कार्य गरेमा प्रचलित कानुन बमोजिम कारवाही गरिने सहायक प्रजिअ देवकोटाले बताउनुभयो ।
