२०८१ जेष्ठ ४, शुक्रबार
24 खबर अपडेट

आगजनीका घटना बढेपछि नवलपरासीमा आगलागी नियन्त्रण सम्बन्धी कृत्रिम घटना अभ्यास

२०८१ बैशाख ९, आईतबार प्रकाशित ( हफ्ता अघि) १०५ पाठक संख्या

मोहन पौडेल
परासी, ९ वैशाख । बदलिदोँ मौसमसँगै पश्चिम नवलपरासीमा आगजनीका घटना वृद्धि हुन थालेपछि सावधानीका लागि सचेतना जगाउन आगलागी नियन्त्रण सम्बन्धित कृत्रिम घटना अभ्यास गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको आयोजना तथा सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाले संयुक्त रुपमा रामग्राम १२ स्थित पचगावा खेलमैदानमा उक्त कृत्रिम अभ्यास गरेको हो ।
केही दिनयता जिल्लाको पाल्हीनन्दन, सरावल, प्रतापपुर,सुस्ता गाउँपालिका तथा रामग्राम नगरपालिका क्षेत्रमा सर्वसाधरणका घरसँगै गहुँबारीमा आगजनीका घटना भईरहेका छन् । गर्मीयात र हावाहुरीको समयमा मानवीय तथा प्राकृतिक कारणबाट हुने यस किसिमका आगजनीबाट हुन सक्ने जोखिम र क्षतिलाई मध्यनजर गर्दै विभिन्न सरोकारवाला निकायसँग समन्वय गरि जनचेतना फैलाउन कृत्रिम अभ्यास गरिएको सशस्त्र प्रहरी बल नं.२६ हेडक्याटर बेलाशपुरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक प्रकाश वाग्लेले जानकारी दिनुभयो ।
यस किसिमका कार्यक्रमले भविष्यमा हुन सक्ने आगलागी सम्बन्धि दुर्घटनाबाट सम्भावित क्षतिलाई कम गर्न मद्दत पुग्ने प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताउनुभयो । पछिल्लो दश दिन यता जिल्लामा मानवीय कारणले आगलागीका घटना भईरहेको बताउँदै प्रजिअ पन्थीले विपद्को समयमा एक जुट भएर सामना गर्न सके ठूलो नोक्सानीबाट मानव, पशुचौपाया तथा धनमाल जोगाउन सकिनेमा जोड दिनुभयो ।
कार्यक्रममा सुरक्षाकर्मीले आगजनीका कारण र नियन्त्रणको उपायको बारेमा प्रयोगात्मक अभ्यास प्रदर्शन गरेका थिए । पचगावा गाउँमा कृत्रिम आगजनी गराएर निभाउने प्रयास गरिएको थियो । आगजनीबाट घाईतेहरुको उद्धारमा रेडक्रसका स्वयमसेवक पनि खटिएका थिए भने दमकल, एम्बुलेन्ससहित आगलागी नियन्त्रणका अन्य उपायहरुको बारेमा पनि जानकारी गराईएको थियो ।
रामग्राम नगरपालिकाका मेयर यादवले कृषिमा यान्त्रिकीकरणको प्रयोग बढेसँगै आगलागीका घटना बढेको बताउनुभयो । आगलागी नियन्त्रणका लागि दमकलको मात्र भर नपरी स्थानीयले विभिन्न तरिका अपनाएर क्षति न्यूनीकरण गर्न सकिने सन्देश यो अभ्यासले दिएको उहाँले बताउनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस