२०८१ जेष्ठ ४, शुक्रबार
24 खबर अपडेट

पाल्हीनन्दन–६ मा आगलागी हुँदा १० घर जलेर नष्ट, गाउँपालिकाद्धारा राहत वितरण

२०८१ बैशाख ७, शुक्रबार प्रकाशित ( हफ्ता अघि) १३८ पाठक संख्या

परासी,७ वैशाख । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा भएको आगलागीले १० वटा घर जलेर नष्ट भएका छन् । पाल्हीनन्दन वडा नं. ६ स्थित पडरी गाउँमा आज दिउँसो आगलागी भएको थियो ।
दिउँसो अचानक लागेको आगलागीमा परि स्थानीय रामवृक्ष धोबी, चन्द्रीका धोबी,चन्ना धोवी र रामवृक्ष धोवी बुलाकीको घर पूर्ण रुपमा जलेर नष्ट भएको छ भने राजेश धोबी,भिखारी धोवी,कोईल पठान, मेराज पठान,कमरुद्दिन अन्सारी र हैदर अलि अन्सारीको घरमा आंशिक क्षति पुगेको स्थानीय सन्दिप कुमार यादवले जानकारी दिनुभयो ।
दिउँसो साढे ४ बजे शुरु भएको आगो स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी एवं रामग्राम र बर्दघाट नगरपालिकाको दमकलको सहायतले नियन्त्रणमा लिएको वडा अध्यक्ष कृष्णचन्द्र यादवले बताउनुभयो । आगलागीको कारण एकिन नभएपनि स्थानीय एक नास्ता पसलमा ग्यास चुल्हो बाल्ने क्रममा आगो सल्किएको स्थानीयले बताएका छन् । आगलागीमा परि मानवीय क्षति हुन नपाएपनि लाखौँ मूल्य पर्ने आवास, खाद्यन्न, लत्ताकपडा, नगद तथा पशुचौपायाहरु जलेर नष्ट भएका छन् । चार वटा छाप्रोका घर पूर्ण रुपमा जलेर नष्ट भएको वडा अध्यक्ष यादवले बताउनुभयो ।
आगलागी पीडितलाई तत्कालका लागि पाल्हीनन्दन गाउँपालिकाले दैनिक उपभोग्य खाद्यन्न उपलब्ध गराएको छ । गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता(दीपक), वडा अध्यक्ष कृष्णचन्द्र यादवसहितको टोलीले आगलागी स्थलको निरीक्षण गर्दै पीडितलाई तत्कालका लागि आवश्यक राहतको व्यवस्थापन गरिएको गाउँपालिकाले जनाएको छ । आगलागीबाट विस्थापित भएका परिवारलाई आश्रयको व्यवस्थापन भईरहेको गाउँपालिकाले जनाएको छ । यसैबीच संघीय सांसद ध्रुबबहादुर प्रधान, लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ जयसवाल लगायतले पनि आगलागी स्थलको निरीक्षण तथा जानकारी लिनुभएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस