२०८१ जेष्ठ ४, शुक्रबार
24 खबर अपडेट

एमाले संगठन निर्माण र सुदृढीकरणतर्फ केन्द्रीत छ : केन्द्रीय सदस्य खनाल

२०८१ बैशाख ४, मंगलबार प्रकाशित ( महिना अघि) ९० पाठक संख्या

परासी, ४ वैशाख । नेकपा एमालेकी केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य सरिता भुसाल खनालले मुलुकको पहिलो शक्तिको रुपमा स्थापित गर्ने गरि एमाले संगठन सुदृढीकरणतर्फ केन्द्रीत रहेको बताउनुभएको छ । एमालेको एकल नेतृत्वमा बहुमतको सरकार निर्माण भएमात्र देशको विकासले गतिशीलता लिने उहाँले दाबी गर्नुभयो ।
नेकपा एमाले रामग्राम नगर कमिटीको आज परासीमा सम्पन्न दोस्रो नगर अधिवेशनलाई उद्घाटन गर्दै एमाले नेतृ खनालले अहिले सत्ता र संगठन निर्माणलाई पार्टीले प्राथमिकतामा राखेर अघि बढेको बताउनुभयो । वर्तमान गठबन्धनको सरकारमा एमाले सामेल भएपछि विगतमा एमालेकै नेतृत्वमा शुरु भई अवरुद्ध रहेका विकास निर्माणका कार्यहरुले फेरि गति लिन थालेको र जनतामा पनि आशा जगाएको नेतृ खनालको भनाई थियो ।
आगामी निर्वाचनमा पहिलो पार्टीको रुपमा स्थापित हुने गरि पार्टीले मिसन ८४ अभियान चलाएको बताउँदै उहाँले २०८१ साललाई पार्टी शुद्धीकरण र सुदृढीकरणको वर्षको रुपमा अभियान शुरु गरिएको बताउनुभयो । एमालेलाई अहिले महत्वपूर्ण मन्त्रालय भन्दा पनि मुलुकको विकासलाई तीव्रता दिनु महत्वपूर्ण रहेको नेतृ खनालको जिकिर थियो ।
एमाले रामग्राम नगर अध्यक्ष हरिलाल यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष दीपेन्द्र अधिकारी, जिल्ला सचिवालय सदस्य एवं नगर ईन्चार्ज धनपत यादव, जिल्ला सदस्य रामचन्द्र भण्डारी, नगर उपाध्यक्ष सन्त बहादुर चौधरी, निवर्तमान नगर सचिव दीपक गैरे लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
यसैबीच एमाले रामग्राम नगर कमिटीको अधिवेशनले आगामी तीन वर्षको लागि पुनः हरिलाल यादवको नेतृत्वमा निर्विरोध नयाँ कमिटी निर्वाचित गरेको छ । ५१ सदस्यीय नवगठित नगर कमिटीको उपाध्यक्षमा सन्त बहादुर चौधरी, सचिवमा सन्देश न्यौपाने, उपसचिवमा द्धय मोहम्मद रजाक मिया र नारायणी गड्तौला रहनुभएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस