२०८१ जेष्ठ ४, शुक्रबार
24 खबर अपडेट

नवलपरासी औद्योगिक व्यापार मेला यस क्षेत्रको ब्राण्ड हो,उद्योगी व्यवसायी उत्साहित छन् : अध्यक्ष अग्रहरी(अन्तर्वार्ता)

२०८० फागुन १५, मंगलबार प्रकाशित ( महिना अघि) ६७ पाठक संख्या

पश्चिम नवलपरासीको सदरमुकाम परासीमा यही फागुन १६ देखि ३० गतेसम्म छैठौँ नवलपरासी औद्योगिक व्यापार मेला २०८० सञ्चालन हुँदैछ । नवलपरासी उद्योग वाणिज्य संघले रामग्राम–५ स्थित वाईपास रोड नजिकै आयोजना गर्न लागेको मेलाको सम्पूर्ण तयारी सकिएको छ । मेलाको सान्दर्भिकता र उपलब्धीको विषयमा रहेर दैनिक ट्वान्टीफोर खबरका सम्पादक मोहन पौडेलले मेला आयोजक नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश अग्रहरीसँग गर्नुभएको कुराकानी

छैठौँ पटक हुन लागेको नवलपरासी औद्योगिक व्यापार मेलाको तयारी कस्तो छ ?
निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नवलपरासी उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको छैठौँ नवलपरासी औद्योगिक व्यापार मेला यस क्षेत्रको ब्राण्ड हो । हामीले सञ्चालन गर्ने मेलाको विशेष गरिमा छ । विगतमा गरिएका मेलाको तुलनामा यसपटक हामीले केही फरकपन दिन खोजिरहेका छौँ । मेलाको पूर्व तयारीका कामहरु सकिएका छन् । मेला स्थलमा प्रवेशद्धार, सचिवालय, रामग्राम स्तूपको स्ट्याचु, मञ्च,बाल उद्यान, स्टल निर्माण गरिएको छ । मूल आयोजक समिति बाहेक पनि हामीले २५ वटा विभिन्न उपसमितिहरु निर्माण गरि जिम्मेवारी दिएका थियौँ । उपसमितिले आआफ्नो जिम्मेवारी अनुसार काम गरिरहेका छन् । समग्रमा मेलाको तयारी सकिएर अब उद्घाटनको घडीमा पुगेका छौँ ।
यो मेलाको आयोजना गर्नुको उद्देश्य र प्राथमिकताको क्षेत्र के के हुन् ?
पछिल्लो समय नवलपरासी जिल्ला औद्योगिक क्षेत्रको रुपमा विस्तार भईरहेको छ । यो जिल्लालाई कृषि, पर्यटन,औद्योगिक जिल्लाको रुपमा परिचित गराउँदै यस क्षेत्रका धार्मिक, सांस्कृतिक,पर्यटकीय स्थलको प्रवद्र्धन, आर्थिक चलायमान गरि समग्र आर्थिक तथा सामाजिक क्षेत्रको विकासमा टेवा पुर्याउन साथै स्थानीय उत्पादनलाई राष्ट्रिय अन्तर्राष्ट्रिय बजारको पहुँच विस्तार गर्न,यहाँका कृषि,औद्योगिक,लघु उत्पादनको बजारीकरण गर्न, उपभोक्तालाई स्वदेशकै वस्तु किनमेल गर्ने बानीको विकास गर्न हामीले यो मेला आयोजना गर्दै आएका छौँ । हामीले कृषि, पर्यटन र स्थानीय उत्पादनको प्रवद्र्धनलाई मूख्य प्राथमिकतामा राखेका छौँ । मेला अवधिमा यस क्षेत्रको कला, संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्दै स्थानीय प्रतिभाको उजागरमा पनि जोड दिने छौँ ।
यस पटकको मेलाको विशेष आकर्षण के छन् ?
यस पटकको मेलाका विशेषताहरुमा वस्तुको प्रकृतिको आधारमा छुट्टाछुट्टै स्टलहरु व्यवस्थित गरिएको छ । कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिएर छुट्टै कृषि जोन निर्माण गरेका छौँ । जहाँ पोखरीमा जिउँदो माछाको प्रदर्शनी हुनेछ । जिल्ला भित्र उत्पादित केरा, उखु लगायतका बालीको प्रदर्शनी साथै उखु प्रशोधन मेसिन मेला परिसरमै राख्दै छौँ । मूख्य प्रवेशद्धारलाई आकर्षित बनाउन परासीको बुद्धचोकमा अवस्थित बुद्धमूर्ति स्ट्याचुकै आकृतिको गेट निर्माण गरिएको छ । मेला परिसरमा रामग्राम स्तूप र पाल्ही मन्दिरको प्रवद्र्धनका लागि स्ट्याचु निर्माण गरिएको छ । मेलाको सचिवालय उद्योग वाणिज्य संघकै भवनको झल्को दिने गरि बनाईएको छ । मेला परिसरमा थारु लगायत आदिवासी जनजातिका परम्परागत घरहरु निर्माण गरिएको छ । यस बाहेक बाल उद्यान रमाईलो मेला, दैनिक रुपमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको विविध सांस्कृतिक प्रस्तुती मेलाको थप आकर्षणको रुपमा रहेका छन् ।
यो मेलाको उपलब्धी के ?
नवलपरासी उद्योग वाणिज्य संघले सञ्चालन गर्ने मेलाबाट धेरै उपलब्धी भएको छ । यहाँका उत्पादनले बजार पाएका छन् । लाखौँ उपभोक्ताबीच आफ्ना उत्पादन र सेवालाई प्रदर्शन गरि पहिचान गराउने अवसर प्राप्त भएको छ । विभिन्न क्षेत्रबाट आएका व्यापारी र खरिदकर्ताबीच सिधा सम्पर्क भई व्यवसाय प्रवद्र्धन हुन्छ । नवलपरासी जिल्लामा रहेका ठूला, मझौला, साना उद्योग तथा लघु उद्यमीले उत्पादन गरेका वस्तुहरुको प्रदर्शनीले यहाँ उत्पादन भईरहेका वस्तुको बारेमा आम जिल्लावासीलाई जानकारी भई स्थानीय उत्पादनको उपभोगमा जोड हुनेछ । रामग्राम स्तूप, पण्डितपुर, पाल्ही भगवती मन्दिर लगायतका जिल्ला भित्र रहेका धार्मिक, सांस्कृतिक, पुरातात्विक तथा ऐतिहासिक क्षेत्रहरुको प्रवद्र्धन भई आन्तरिक एवं बाह्य पर्यटनमा जोड पुग्नेछ । यहाँका कृषकले उत्पादन गरेका वस्तुको प्रदर्शनीले उनीहरुको उत्पादनको बजारीकरण र व्यवसायिक उर्जा प्राप्त हुनेछ । कृषि सम्बन्धी नवीन प्रविधिको ज्ञान हुनेछ । कृषक र व्यवसायीबीच सिधा सम्पर्क स्थापित हुनेछ । लोप हुन लागेको स्थानीय कला संस्कृतिको संरक्षण र उजागर हुनुका साथै स्थानीय प्रतिभाले अवसर प्राप्त गर्नेछन् । सबै धर्म, जात, संस्कृति र परम्पराको सम्मान र सामाजिक सद्भाव अभिवृद्धि हुनेछ । विदेशी उद्योगहरुसँग अनुभवको आदानप्रदान हुने,गुणात्मक स्वच्छ प्रतिस्पर्धाको लागि प्रेरणा मिल्ने,सरकार र निजी क्षेत्रबीचको अवसर, समस्या समाधान र सुधारको लागि सुझाव आदानप्रदानको मौका प्राप्त हुने विश्वास लिएका छौँ ।
यो मेलामा हुने आर्थिक कारोबार र दर्शकको उपस्थिति कस्तो अपेक्षा गर्नुभएको छ ?
यो मेलामा करिब पाँच करोड दश लाख रुपैयाँसम्म आर्थिक कारोबार हुने अनुमान गरेका छौँ । मेला सञ्चालन हुँदै गर्दा उद्योगी, व्यवसायीहरु निकै उत्साहीत पनि हुनुहुन्छ । विशेषगरी कोरोना कहरको महामारीपछि उद्योग व्यवसाय क्षेत्र मारमा परेको छ । धेरै उद्योग व्यवसाय धरासायी बनेका छन् । यो मेलाको माध्यमबाट धरासायी बनेका उद्योग व्यवसायको उत्पादनले बजारीकरण प्राप्त गर्ने भएकोले मेलामा आर्थिक कारोबार बढ्ने हामीले विश्वास गरेका छौँ । परासीमा करिब चार वर्षको अन्तरालपछि मेला सञ्चालन हुन लागेकोले पनि करिब दुई लाख दर्शकले अवलोकन गरि लाभ प्राप्त गर्ने अपेक्षा हामीले गरेका छौँ ।
वर्तमान आर्थिक मन्दीको अवस्थामा यो मेलाले आर्थिक चलायमान बढाउन सक्ला ?
अवश्य पनि । अहिलेको यो आर्थिक मन्दीबाट सबैभन्दा पीडित निजी क्षेत्र नै छ । आर्थिक चलायमान नहुँदा कयौँ उद्योगहरु बन्द भएका छन् । धेरै उद्योगहरु धरासायी बनेका छन् । सञ्चालनमा रहेका उद्योगहरु पनि निकै चुनौतीबीच चलिरहेका छन् । व्यापारीहरु घरभडा तिर्न नसक्ने अवस्थामा पुगेका छन् । तसर्थ पनि यो मेलाको माध्यमबाट हामीले आर्थिक चलायमान बढवा दिन खोजेका हौँ । विभिन्न क्षेत्रका उद्योगी, व्यवसायी, आम उपभोक्ता एकै थलोमा जमघट हुँदा आर्थिक चलायमान हुन्छ । निराश अवस्थामा रहेका उद्योगी,व्यवसायीको मनोबल बढ्नेछ । मेला हामीले सोचे भन्दा बढी सफल र प्रभावकारी हुने हाम्रो दाबी छ ।
मेलालाई सबैको बनाउन कस्तो प्रयास गरिएको छ ?
पक्कै पनि यो मेला सम्पूर्ण नवलपरासी जिल्लावासीको हो । यो मेला लुम्बिनी प्रदेश र मुलुककै गौरव हो । हाम्रो नारा नै शान्ति, समृद्ध उद्योग र व्यापार ः राष्ट्र निर्माणको बलियो आधार भन्ने रहेको छ । स्थानीयलाई समेट्न स्थानीय उत्पादनलाई बढवा दिईएको छ । यस क्षेत्रका धार्मिक तथा पर्यटकीय स्थलको चिनारी र प्रवद्र्धनमा जोड दिईएको छ । मेला सफल बनाउन यस क्षेत्रमा क्रियाशील सम्पूर्ण राजनीतिक दल, सरकारी तथा गैरसरकारी संघ संस्था, धार्मिक तथा जातीय समूह,निजी तथा सामुदायिक विद्यालय, स्थानीय जनप्रतिनिधि लगायतसँग पनि छलफल तथा समन्वय सहकार्य गरिरहेका छौँ । यो मेलामा स्थानीयको अपनत्व रहँदै आएको छ। सबै राजनीतिक दलले सहयोग गर्नुभएको छ। यो मेला हामी सबैको पर्व जस्तै हो । राष्ट्रिय स्तरमै हामीले यो मेलाको छुट्टै पहिचान बनाउन सफल भएका छौँ ।
मेलाबाट हुने आम्दानीलाई कहाँ खर्चने योजना छ ?
मेलाबाट प्राप्त हुने आम्दानी हामीले विगतमा हाम्रो सचिवालय निर्माण र अतिथि गृह निर्माणका लागि खर्च गर्दै आएका छौँ । परासीमा सुविधासम्पन्न अतिथि गृह नहुँदा यहाँ आउने उच्च पदस्थ व्यक्तिहरुलाई बास बसाल्न पनि बुटवल भैरहवा लगायतका शहरमा लैजानुपर्ने बाध्यतालाई अन्त्य गर्न हाम्रो सचिवालय परिसरमै निर्माणाधिन अतिथि गृहमै यो मेलाको आम्दानी पनि खर्चिने छौँ । त्यसबाहेक अन्य सामाजिक क्षेत्रमा पनि खर्च गर्ने हाम्रो योजना छ । उद्योगी व्यवसायीको प्रवद्र्धनमै हाम्रो योगदान रहन्छ ।
अन्त्यमा के भन्नुहुन्छ ?
यो मेला हामी सबै जिल्लावासीको गौरव हो । यसलाई सफल बनाउन म सबै जिल्लावासीलाई आह्वान गर्दछु । नवलपरासी उद्योग वाणिज्य संघले आयोजना गरेको यो मेलाको संरक्षक रामग्राम नगरपालिका रहेको छ भने सहआयोजकमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश, जिल्ला समन्वय समिति, नवलपरासी, नेपाल पर्यटन बोर्ड रहेको छ । यो मेलाको नेपाल सरकारका अर्थमन्त्री प्रकाशशरण महतले उद्घाटन गर्नुहुनेछ । उक्त अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी, वरिष्ठ उद्योगी, व्यवसायीहरु, तीनै तहका सरकारका प्रतिनिधिहरु लगायतको पनि उपस्थिति हुँदैछ । एक पटक मेलाको अवलोकन अवश्य गर्नुहोला । हामीले ज्येष्ठ नागरिक, असक्त एवं फरक क्षमता भएकालाई निःशुल्क प्रवेशको व्यवस्था मिलाएका छौँ ।अन्य साधारण टिकटदर रु १०० निर्धारण गरिएको छ भने विद्यार्थीलाई परिचय पत्रको आधारमा रु ७० र विद्यालयबाट सामूहिक आउँदा रु पचासका दरले प्रवेश शुल्क निर्धारण गरिएको छ । कृषि, घरेलु तथा लघु उद्यमीले उत्पादन गरेका वस्तुहरु, विभिन्न जातिय खानाका परिकारहरु, आधुनिक कृषि औजार र उपकरणहरु,घरायसी उपभोग्य सामान, हस्तकला, सूचना प्रविधि लगयातका गरि १३० बढी स्टल मेलामा प्रदर्शनीमा रहनेछन् । मेलालाई सभ्व र भव्य रुपमा सम्पन्न गर्न सबै क्षेत्रको सहयोगको अपेक्षा गर्दै मेला अवलोकनका लागि यसै मिडिया मार्फत सबैमा आह्वान पनि गर्दछु ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस