२०८१ जेष्ठ ४, शुक्रबार
24 खबर अपडेट

कानून निर्माण र सभा सञ्चालनको विषयमा लुम्बिनी प्रदेशसभाद्धारा परासीका स्थानीय तहसँग अन्तरक्रिया

२०८० माघ ६, शनिबार प्रकाशित ( महिना अघि) २४८ पाठक संख्या

मोहन पौडेल
परासी, ६ माघ । लुम्बिनी प्रदेशको प्रदेशसभा सचिवालयले पश्चिम नवलपरासीका स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीसँग कानून निर्माण र सभा सञ्चालनको विषयमा अन्तरक्रिया गरेको छ । प्रदेशसभाले आज भूमहीमा आयोजना गरेको उक्त कार्यक्रममा पश्चिम नवलपरासीका सुनवल, रामग्राम नगरपालिका तथा पाल्हीनन्दन गाउँपालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्षहरु एवं प्रमुख प्रशासकीय अधिकृत तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।
स्थानीय तहलाई कानून निर्माणमा समन्वय, सहकार्य र सहजीकरण गर्न यस किसिमको कार्यक्रम प्रदेशसभाले पहिलो पटक आयोजना गरेको लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तिमगरले जानकारी दिनुभयो । संघीयता कार्यान्वयनको चरणमा प्रदेश संरचना नयाँ भएको र यसलाई स्थापित गर्न स्थानीय तहसँग सहकार्य गरिएको उहाँले बताउनुभयो ।
स्थानीय तहसँग उनीहरुले बनाएका कानून, कार्यान्वयनको अवस्था,जटिलता एवं सभा सञ्चालनको क्रममा भोगेका अनुभव लगायतका विषयमा छलफल गरिएको सभामुख घर्तिले बताउनुभयो । छलफलका क्रममा स्थानीय तहका प्रतिनिधिहरुले जनशक्ति र अनुभवको कमीले कानून र बजेट निर्माणमा समस्यामा रहेको भन्दै सहजीकरण गरिदिन आग्रह गरेको सभामुख घर्तिले बताउनुभयो ।
अन्तरक्रिया पछि आयोजित पत्रकार भेटघाट कार्यक्रममा सभामुख घर्ति मगरले प्रदेशसभाले अव स्थानीय तहसँग सहकार्य गर्दै कानून निर्माणमा सहजीकरण गर्ने जानकारी दिनुभयो । लुम्बिनी प्रदेशका ६ वटा जिल्लामा यस किसिमको कार्यक्रम गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेश संरचनालाई स्थापित गर्न स्थानीय तहले बनाएको कानून प्रदेशले अध्ययन गर्ने र प्रदेशसभाले बनाएका कानून स्थानीय तहले अध्ययन गरि एक आपसमा कानून निर्माणमा सहकार्य गरिने बताउनुभयो । कतिपय बाझिएका कानूनको जटिलता हटाउन स्थानीय जनप्रतिनिधिले माग गरेका थिए । संघीयतालाई बलियो बनाउन स्थानीय तह र प्रदेशबीच सहकार्य र समन्वय आवश्यक रहेको उहाँको भनाई थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस