२०८१ जेष्ठ ४, शुक्रबार
24 खबर अपडेट

सरावलमा उपाध्यक्ष कप कपर्दी प्रतियोगिता शुरु

२०८० मंसिर १४, बिहिबार प्रकाशित ( महिना अघि) २५५ पाठक संख्या

मोहन पौडेल
परासी, १४ मंसिर । पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं.५ धनगढवामा उपाध्यक्ष कप कपर्दी प्रतियोगिता (पालिका स्तरीय खेलाडी छनौट ) शुरु भएको छ । सरावल गाउँपालिकाको आयोजनामा सञ्चालन गरिएको उक्त प्रतियोगितामा पालिका भित्रका ३२ टिमले प्रतिस्पर्धा गर्दैछन् ।
सरावल गाउँपालिकाकी उपाध्यक्ष बासमति हरिजनको अध्यक्षतामा आयोजित एक समारोहकाबीच प्रतियोगिताको बुधबार जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख भगौती यादव(रुदल)ले उद्घाटन गर्नुभयो । उक्त अवसरमा जिसस प्रमुख यादवले सरावल गाउँपालिकाले खेल क्षेत्रलाई विशेष प्राथमिकता दिएको भन्दै खुशी व्यक्त गर्नुभयो । गाउँपालिकालाई खेल क्षेत्रबाट पनि पहिचान गर्न सकिने बताउँदै प्रमुख यादवले स्थानीय खेलाडिलाई अवसर र प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो ।
सरावल गाउँपालिका अध्यक्ष सुखाडीप्रसाद चौधरीले खेल क्षेत्रलाई विशेष प्राथमिकता दिँदै परम्परागत खेललाई जर्गेना गर्न र खेलाडिलाई प्रोत्साहन गर्न गाउँपालिका तयार रहेको बताउनुभयो । गाउँपालिका उपाध्यक्ष बासमति हरिजनले विगतमा राष्ट्रिय खेलकै मान्यता पाएको कपर्दी खेल पछिल्लो समय लोप हुन थालेको भन्दै यसको संरक्षण गर्न गाउँपालिकाले प्रयास गरेको बताउनुभयो । यस खेलबाट राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमै खेलाडि अघि बढ्न प्रेरित गर्ने उहाँको विश्वास थियो।
प्रतियोगिताको उद्घाटनको क्रममा सम्पन्न दुई खेलमा खोखरपुराले विजयी शुरुवात गरेको छ । पहिलो खेलमा फुलबारिया र दोस्रो खेलमा भुजहवालाई खोखरपुराले पराजित गरेको खेल संयोजक गोपीचन्द हरिजनले बताउनुभयो । प्रतियोगितामा करिब पाँच दिन सञ्चालन हुनेछ । प्रतियोगितामा प्रथम पुरस्कार रु ५१ हजार, मेडल र कप, दोस्रो पुरस्कार ३१ हजार, मेडल र कप, तृतीय पुरस्कार २१ हजार, मेडल र कप तथा सान्त्वना पुरस्कार पाँच हजार, मेडल र कप रहेको छ । स्थानीय जय बजरंग युवा क्लवले प्रतियोगिताको व्यवस्थापनमा सहयोग गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस