२०८१ जेष्ठ ४, शुक्रबार
24 खबर अपडेट

पाल्हीनन्दनका जनप्रतिनिधिलाई मानसिक स्वास्थ्य सम्बन्धी अभिमुखीकरण

२०८० आश्विन ११, बिहिबार प्रकाशित ( महिना अघि) ३१७ पाठक संख्या

परासी, ११ असोज । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका जनप्रतिनिधिलाई मानसिक स्वास्थ्य सम्बन्धी अभिमुखीकरण गरिएको छ । मानसिक रोगको अवस्था, उपचार सेवा, स्थानीय सरकारको दायित्व लगायतका विषयमा गाउँपालिकाको कार्यपालिका सदस्यहरुलाई उक्त अभिमुखीकरण प्रदान गरिएको हो ।
पाल्हीनन्दन गाउँपालिकाको समन्वय र युनाईटेड मिसन टु नेपाल(यूएमएन) र ईन्द्रेणी सामाजिक विकास मञ्च पञ्चनगर बर्दघाट द्धारा सञ्चालित एकिकृत ग्रामीण समुदाय स्वास्थ्य परियोजनाको आयोजनामा भएको उक्त कार्यक्रममा नेपालमा मानसिक रोगको अवस्था,उपचार प्रणाली, मनोसामाजिक परामर्श तथा स्थानीय सरकारको भूमिका लगायतका विषयमा सहजीकरण गरिएको परियोजनाकी सपना श्रेष्ठले बताउनुभयो।
कार्यक्रममा परियोजनाका स्वास्थ्य व्यवस्थापक ईश्वर केसीले सहजीकरण गर्दै पश्चिम नवलपरासीको पाल्हीनन्दन र प्रतापपुर गाउँपालिकामा विगत साढे दुई वर्षदेखि मानसिक स्वास्थ्य सेवा प्रदान गरिँदै आएको जानकारी दिनुभयो । उक्त सेवा शुरु भएपछि पाल्हीनन्दनमा मात्रै हालसम्म ९३ जना मानसिक रोगी फेला परेकोमा ५९ जना महिला मात्र रहेको उहाँले बताउनुभयो ।
परियोजनाले गाउँपालिकाका स्वास्थ्यकर्मीहरुलाई मानसिक स्वास्थ्य उपचार सेवाका लागि आवश्यक तालिम प्रदान गरेको तथा ६ महिनाको तालिम दिएर मनोपरामर्शकर्तामार्फत पनि सेवा प्रदान गर्दै आएको केसीले बताउनुभयो । नेपालमा विभिन्न कारणले मानिसहरु मनसिक रोगी बन्ने गरेको बताउँदै उहाँले उनीहरुको पहिचान गरि मनोसामाजिक परामर्श तथा उपचारका लागि पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
परियोजनाले मानसिक रोगीलाई स्थानीय सरकारले प्रदान गर्ने सेवा सुविधामा पहुँच अभिवृद्धि गर्ने, समुदाय तथा विद्यालय स्तरमा चेतनामूलक कार्यक्रम गर्ने,आत्महत्या लगायतका समस्या न्यूनीकरण गर्न पहल गर्दै आएको र जनप्रतिनिधिले पनि यसमा आवश्यक सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । जैविक, मनोवैज्ञानिक र सामाजिक कारणले मानसिक स्वास्थ्यका समस्याहरु हुने गरेको बताउँदै उहाँले सरकार र नागरिक समेतले गम्भीरता पूर्वक लिनुपर्ने बताउनुभयो ।
जनस्वास्थ्य ऐन २०७५ ले मानसिक स्वास्थ्यलाई आधारभूत स्वास्थ्य सेवामा समाहित गरेको र सो सेवा प्रदान गर्ने दायित्व स्थानीय सरकारको रहेको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता(दीपक)ले मानसिक स्वास्थ्य समस्या नियन्त्रण तथा आत्महत्या न्यूनीकरणको लागि सबैको सकरात्मक पहल आवश्यक रहेको बताउनुभयो । उहाँले आगामी दिनमा पालिकाले व्यवस्थित मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना बनाई लागू गर्ने बताउनुभयो । कार्यपालिका सदस्य, स्वास्थ्य शाखाका पदाधिकारी,सञ्चारकर्मी तथा सरोकारवालाको सहभागितामा उक्त कार्यक्रम गरिएको ईन्द्रेणी सामाजिक विकास मञ्चका सामाजिक परिचालक राधेरमण तिवारीले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस