२०८१ जेष्ठ ४, शुक्रबार
24 खबर अपडेट

संविधान निर्माणमा नेम्बाङ्ले खेलेको नेतृत्वदायी भूमिका सँधै स्मरणीय रहनेछ

२०८० आश्विन २, मंगलबार प्रकाशित ( महिना अघि) ४४४ पाठक संख्या

मोहन पौडेल
परासी, २ असोज । संविधान निर्माणमा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङ्गको नेतृत्वदायी भूमिकालाई भुल्न नसकिने एमाले नेताहरुले बताउनुभएको छ । नेम्बाङ्गकै कुशल नेतृत्वका कारण विभिन्न पृष्ठभूमिका राजनीतिक दललाई सहमतिमा ल्याउन र संविधान जारी गर्न नदिने षडयन्त्र परास्त गर्न सहयोग पुगेकोले उहाँले खेलेको भूमिका सँधै स्मरणयि हुने भन्दै नेताहरुले नेम्बाङ्गको रिक्तता पूरा गर्न सबै एकढिक्का भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
संविधानसभा अध्यक्ष एवं एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ्गको स्मृतिमा आज एमाले सुनवल नगर कमिटीले वनकट्टीमा आयोजना गरेको शोकसभा तथा संविधान निर्माणमा नेम्बाङ्गको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरा बताउनुभएको हो ।
नेकपा एमालेकी केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य सरिता भूसाल खनालले संविधान दिवसको पूर्वसन्ध्यामा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङ्गलाई गुमाउनुपर्दा अत्यन्त पीडाबोध भएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालको संविधान निर्माणमा स्वर्गिय नेम्बाङ्गको अतुलनीय भूमिका छ,नेम्बाङ्गकै नेतृत्वदायी भूमिकाले संविधान जारी हुन सक्यो”
नेपालले संविधानसभाबाट संविधान बनाउने ऐतिहासिक अवसर प्राप्त गरेको बताउँदै नेतृ खनालले संविधानको पूर्ण कार्यान्वयनका लागि अझै पनि १८१ वटा कानून निर्माण गर्न बाँकी रहेको र ती कानून निर्माण गरि कार्यान्वयन गर्न सके मात्र स्वर्गिय नेम्बाङ्गप्रति सच्चा सम्मान हुने बताउनुभयो । “अत्यन्तै शालिन, भद्र, मिठास बोली, कहिल्यै नरिसाउने, चित्त नबुझेपनि आरोप नलगाई सहजताका साथ कुरा गर्ने,शिष्टता उहाँको परिचय थियो”,उहाँले भन्नुभयो ।
एमाले केन्द्रीय सदस्य एवं सुनवल नगरपालिकाकी मेयर बिमला अर्यालले स्वर्र्गीय नेम्बाङप्रति श्रद्धान्जली अर्पण गर्दै जनमैत्री संविधान निर्माणमा नेतृत्वदायी भूमिका खेल्ने सबैका प्रिय नेताको निधनले स्तब्ध बनाएको बताउनुभयो । नेम्बाङको योगदानको जतिसुकै चर्चा गरेपनि अपुग हुने उल्लेख गर्दै नेतृ अर्यालले एमालेको नेतृत्वमा स्थायी सरकार बनाउने नेम्बाङको सपना पूरा गर्ने दायित्व र जिम्मेवारी पूरा गर्न पार्टी पंक्ति प्रतिबद्ध भएर लाग्न आवश्यक रहेको बताउनुभयो ।
नेकपा एमालेका केन्द्रीय सल्लाहकार खिमलाल पोखरेलले नेम्बाङको निधनले अपुरणीय क्षति पुगेको बताउनुभयो । संविधान जारी हुने समयमा रहेको सकसपूर्ण वातावरणमा पनि समन्वयकारी भूमिका निर्वाह गरि नेम्बाङले संविधान जारी गर्न नेतृत्वदायी भूमिका खेलेको स्मरण गर्र्दै नेता पोखरेलले नेम्बाङका कामबाट प्रेरणा लिँदै उहाँका सपना र समृद्ध नेपाल निर्माण गर्ने अभियानमा सबै एक भएर लाग्नुपर्ने उहाँको जोड थियो ।
एमाले केन्द्रीय स्कुल विभाग सदस्य बद्री खनालले कानून,संविधानका ज्ञाता र समन्वय गर्ने खुबी भएका नेम्बाङ्गको नेतृत्वमा गणतन्त्र नेपालको संविधान जारी भएको दिन कहिल्यै विर्सन नसकिने बताउनुभयो ।
उहाँको निधनले नेपाली कम्युनिष्ट आन्दोलन र मुलुकलाई नै अपुरणीय क्षति भएको बताउँदै नेता खनालले मदन भण्डारीपछि सुवासचन्द्र नेम्बाङ्गको निधनले फेरि एकपटक रिक्तता महशुस भएको उल्लेख गर्नुभयो । संविधान जारी हुन नदिन विदेशी शक्तिको आक्रमण भईरहँदा पनि साहसपूर्ण नेतृत्व गर्दै संविधान जारी गर्न स्वर्गिय नेम्बाङ्गको अतुलनीय योगदान रहेको उहाँले स्मरण गर्नुभयो ।
नेकपा एमाले सुनवल नगर कमिटी अध्यक्ष दुर्गानारायण सुवेदीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा एमाले प्रदेश सदस्य थानप्रसाद गैरे, जिल्ला उपाध्यक्ष डोलराज भण्डारी, जिल्ला सचिव धीरज शर्मा बस्याल, माओवादी केन्द्रकी सुनवल नगर उपाध्यक्ष समिक्षा बलाल लगायतले नेम्बाङ्गको भूमिकाको चर्चा गर्दै शोक मनतव्य व्यक्त गर्नुभएको एमाले सुनवल नगर सचिव मुरली गौतमले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस