२०८१ जेष्ठ ४, शुक्रबार
24 खबर अपडेट

पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय लुम्बिनीले सार्वजनिक गर्यो वार्षिक बजेट तथा कार्यक्रम

२०८० भाद्र २५, सोमबार प्रकाशित ( महिना अघि) ३९० पाठक संख्या

मोहन पौडेल
परासी, २५ भदौ । लुम्बिनी प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुटवलमा आयोजित कार्यक्रममा निर्देशनालयका निमित्त निर्देशक डा.प्रवेश सिंह कुँवरले मातहतका कार्यालयको सहित निर्देशनालयको रु ९६ करोड बराबरको वार्षिक बजेट तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।
निर्देशनालयले सार्वजनिक गरेको कार्यक्रम अन्तरगत पशुपन्छीको सर्वसुलभ औषधी उपचार सेवा, खोप सेवा, कृत्रिम गर्भाधान सेवा, बाँझोपन निवारणका लागि घरदैलो सेवा कार्यक्रमलाई प्राथमिकता दिईएको छ । यसैगरी पशु स्वास्थ्य शिविर, मत्स्य शिविर,घुम्ती सेवा, आकस्मिक पशुपन्छी उपचार सेवा कार्यक्रम पनि निर्देशनालयले यस आर्थिक वर्षमा सञ्चालन गर्ने निर्देशक कुँवरले बताउनुभयो । प्रतिफलमा आधारित अनुदानका कार्यक्रम,विशेष क्षेत्र लक्षित व्यवसायिक सघन खेती,मत्स्य प्रवद्र्धन क्षेत्र(नयाँ पोखरी निर्माण) विस्तार लगायतका कार्यक्रम पनि लुम्बिनी प्रदेशमा यसै आर्थिक वर्षमा सञ्चालन हुनेछन् ।
निर्देशनालयले यो वर्ष के कार्यक्रम गर्र्दैछ, कति बजेट छ, कसरी खर्च गर्दैछ भनेर जानकारी दिने उद्देश्यले पनि सबै सरोकारवालाहरुको उपस्थितिमा कार्यक्रम सार्वजनिक गरिएको बताउँदै उहाँले यसले सुशासन, मितव्ययिता,पादरदर्शीता र जवाफदेहितको वातावरण बनाउने विश्वास व्यक्त गर्नुभयो । हालै मात्र निर्देशनालयको प्रमुखको रुपमा आउनुभएका कुँवरले प्रतिफलमा आधारित अनुदानलाई प्रभावकारी बनाउन पहल गर्ने बताउनुभयो । सबैसँग समन्वय र सहकार्य गरेरै कार्यक्रम कार्यान्वयन गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले परिणाम देखिने गरि काम गर्न निर्देशन दिनुभयो । किसानको समस्या सम्बोधन हुने गरि काम गर्नुपर्नेमा जोड दिँदै मन्त्री अहिरले उत्पादनमूलक क्षेत्रको लगानीलाई प्रवद्र्धन गर्नुपर्ने बताउनुभयो । किसानको समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको बताउँदै मन्त्री अहिरले किसानको हित र कृषि उत्पादन बृद्धि हुने कार्यमा सबैले सहयोग गरेर अघि बढ्नुपर्ने बताउनुभयो । कार्यक्रममा सहभागिहरुले योजना निर्माण गर्नुपूर्व नै सरोकारवालासँग सुझाव लिन र किसानको अधिकतम हित हुने कार्यक्रमलाई प्राथमिकता दिन सुझाव दिएका थिए ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस