२०८१ जेष्ठ ४, शुक्रबार
24 खबर अपडेट

प्रकाशचन्द्र श्रेष्ठका दुई कृति ‘शान्ति’ उपन्यास र ‘सुन्तलीटार’ कथासंग्रहको विमोचन

२०७९ पौष २४, आईतबार प्रकाशित ( साल अघि) ५०१ पाठक संख्या

मोहन पौडेल
परासी, २४ पुस । समाजसेवी तथा लेखक प्रकाशचन्द्र श्रेष्ठका दुई कृति शान्तिसुन्तलीटारको बिमोचन भएको छ । आज परासीस्थित पवन माविमा आयोजित कार्यक्रममा श्रेष्ठद्धारा रचना गरिएका शान्ति उपन्यास र सुन्तलीटार कथासंग्रहको बिमोचन गरिएको हो ।
रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवले संयुक्त रुपमा कृति विमोचन गर्नुभयो । हेल्पिङ्ग हेण्ड्स परासीका संस्थापक र हाल अमेरिका निवासी श्रेष्ठले त्रिवेणी साहित्य प्रतिष्ठान मार्फत आफ्ना दुई कृति प्रकाशन गर्नुभएको हो । समाजसेवीका रुपमा परिचित श्रेष्ठ अब साहित्यकारको रुपमा समेत चिनिन थाल्नुभएको छ ।
लेखक श्रेष्ठले आफू साहित्यकार नै हुन्छु भनेर कृति लेखेको नभई फुर्सदमा कोर्दै जाँदा कृतिको रुपमा परिणत हुन पुगेको बताउनुभयो । श्रेष्ठद्धारा लिखित सुन्तलीटार कथा संग्रहमा दश वटा कथा समेटिएका छन् । कृतिको टिप्पणी गर्दै साहित्यकार ओमप्रकाश अधिकारीले छोटो मिठो कथाहरु समावेश गरिएको कथासंग्रहमा सुन्तलीटारमा के कस्ता परिवर्तनहरु भए भन्ने अथ्र्याउन खोजिएको बताउनुभयो ।
यस्तै शान्ति उपन्यासले देशमा शान्ति छाओस्, सुख समृद्धि होस् भन्ने कल्पना गरिएको छ भने उपन्यासको प्रमुख पात्र शान्तिले आफू अफ्ठ्यारोमा पर्दा पनि शान्ति स्थापनाका लागि सहादत दिएको मार्मिक कथा समेटिएको छ ।
कृति विमोचन गर्दै नगर प्रमुख यादवले समाजसेवामा अब्बल श्रेष्ठ साहित्यको क्षेत्रमा पनि उदाएको देख्दा खुशी लागेको बताउनुभयो । उहाँले नगर भित्रका साहित्यकार र साहित्य क्षेत्रको प्रवद्र्धनका लागि नगरपालिका सदैव तयार रहेको बताउनुभयो । नगर उपप्रमुख सम्झना चौधरीले साहित्यकार देशकै गहना भएकोले सबैले सम्मान र अध्ययन गर्ने बानिको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
पवन मावि व्यवस्थापन समितिका अध्यक्ष ज्ञानचन्द्र श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पत्रकार महासंघका जिल्ला अध्यक्ष हरि शर्मा, पाल्ही बहुमुखी क्याम्पसका प्रमुख कैलाश ठाकुर, लेखक प्रकाशचन्द्र श्रेष्ठ,त्रिवेणी साहित्य प्रतिष्ठानका कार्यबाहक अध्यक्ष ईन्द्रराज पौडेल,पवन माविका प्रधानाध्यापक अरविन्द पाठक लगायतले शुभकामना व्यक्त गर्नुुभएको शिक्षक तोरेन्द्र जिसीले जानकारी दिनुभयो । समाजसेवी श्रेष्ठको आगामी दिनमा कविता संग्रह समेत प्रकाशनको तयारीमा रहेको हेल्पिङ्ग हेण्ड्स परासीका संयोजक सञ्जय शर्माले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस