

परासी,१२ मंसिर । पश्चिम नवलपरासीको सरावल गाउँपालिका–६ स्थित रामपुर खडौना स्वास्थ्य चौकीमा आयोजित निःशुल्क एकीकृत स्वास्थ्य शिविरबाट २१४ जना लाभान्वित भएका छन्।
सरावल गाउँपालिकाको आयोजनामा तथा युनिभर्सल कलेज अफ मेडिकल साइन्स (यूसिएमएस), भैरहवाको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो।
शिविरको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष सुखाडीप्रसाद चौधरीले स्थानीय नागरिकलाई आफ्नै गाउँठाउँमा विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण तथा परामर्श सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको बताउनुभयो ।
ग्रामीण क्षेत्रमा गरिएको स्वास्थ्य शिविरले विशेषगरी आर्थिक तथा भौगोलिक कारणले नियमित स्वास्थ्य परीक्षण गराउन नसक्ने नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा प्राप्त गर्न सहयोग पुगेको उहाँको भनाइ थियो ।
शिविरमा मुटुसम्बन्धी स्वास्थ्य परीक्षण सेवा ५१ जना, जनरल स्वास्थ्य सेवा १३३ जना र महिला तथा प्रसूति रोगसम्बन्धी सेवा ५२ जनाले लिएका छन्। त्यस्तै,५० जनाले पाठेघरको मुखको क्यान्सर परीक्षण गरेकोमा पाँच जना महिलामा पाठेघरको मुखको शंकास्पद क्यान्सर भेटिएको बताइएको छ ।
शिविरमा महिला तथा प्रसूति रोग विशेषज्ञ डा. शैलु पाण्डे र जनरल फिजिसियन डा. अभिप घिमिरेसहितको चिकित्सकीय टोलीले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरेको थियो।