२०७८ बैशाख १२, आईतबार प्रकाशित (५ साल अघि) २०२० पाठक संख्या
मोहन पौडेल
परासी , १२ वैशाख । नयाँ भेरियन्टसहित कोभिड १९ महामारीको जोखिम लाई मध्यनजर गर्दै पश्चिम नवलपरासीका सबै विद्यालय बन्द गर्न जिल्ला प्रशासन कार्यालयले निर्देशन गरेको छ ।
आज बसेको जिल्ला स्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र डीसीसीएमसीको बैठकले वैशाख १३ गतेदेखि नै अर्को निर्णय नभए सम्मको लागि जिल्लाका सबै निजी तथा सरकारी विद्यालयको पठनपाठन पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले दैनिक २४ खबरलाई जानकारी दिनुभयो ।
यसैगरी पूर्व निर्धारित परीक्षाहरु स्वास्थ्य मापदण्ड पूरा गरि वैशाख २२ गते भित्र सम्पन्न गर्न पनि निर्देशन गरिएको छ। विद्यालयको होस्टेल पनि बन्द गर्नुपर्ने छ।
बैठकले अत्यावश्यक सेवा बाहेकका पसल व्यवसाय बिहान सात बजेदेखि दिउँसो एक बजेसम्म मात्र सञ्चालन गर्न पाउने निर्णय गरेको छ भने सीमानाकामा आवतजावतमा कडाइ ,जोर विजोर प्रणालीमा यातायात सञ्चालन तथा सबै क्षेत्रमा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न आग्रह गरिएको छ।