२०८३ मंसिर १३, आईतबार
24 खबर अपडेट

सांसद यादवसमक्ष सुखौरावासीको माग : वडा समायोजनदेखि लालपूर्जासम्मका समस्या समाधान गरियोस्

२०८३ मंसिर १३, आईतबार प्रकाशित (४ घण्टा अघि) २८ पाठक संख्या

परासी, १३ मंसिर । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–२ स्थित पहाडी बस्ती सुखौरा(खुर्सानीबारी)का स्थानीयले वडा समायोजन, जग्गाधनी पूर्जा र सडक स्तरोन्नतिसहितका समस्या समाधानका लागि प्रतिनिधिसभा सदस्य रिंगला यादवको ध्यानाकर्षण गराएका छन्।
गाउँका समस्या तथा स्थानीयका माग बुझ्न सुखौरा पुग्नुभएकी सांसद यादवसमक्ष स्थानीयले भौगोलिक विकटतादेखि जग्गाको स्वामित्व र पूर्वाधार अभावसम्मका समस्या सुनाउँदै समाधानका लागि पहल गरिदिन आग्रह गरेका हुन्।

Rin 2

 

स्थानीय देवान गुरुङले सुखौरा प्रशासनिक रूपमा बर्दघाट नगरपालिकामा रहे पनि भौगोलिक हिसाबले सुनवल नगरपालिका बढी पायक पर्ने बताउनुभयो। आफ्नै वडा कार्यालय तथा नगरपालिकाको कार्यालय पुग्न सुनवल नगरपालिका र सरावल गाउँपालिका हुँदै जानुपर्ने बाध्यता रहेको उल्लेख गर्दै उहाँले सुखौरालाई बर्दघाटबाट अलग गरी सुनवल नगरपालिका–११ मा समायोजन गर्न पहल गरिदिन सांसद यादवसँग आग्रह गर्नुभयो।
अर्का स्थानीय अमर श्रीसले सुखौरामा बसोबास सुरु भएको पाँच दशक बितिसक्दा पनि स्थानीयले जग्गाधनी पूर्जा पाउन नसकेको समस्या उठाउनुभयो। वि.सं. २०३३ सालदेखि बसोबास गर्दै आए पनि जग्गाको स्वामित्वसम्बन्धी प्रमाण नहुँदा कृषि फार्म तथा अन्य व्यवसाय सञ्चालन, व्यवसाय दर्ता र बैंकिङ कारोबार गर्नसमेत कठिनाइ भइरहेको उहाँले बताउनुभयो। जग्गाधनी पूर्जा प्राप्तिका लागि आवश्यक पहल गरिदिन उहाँले माग गर्नुभयो।
स्थानीय गायत्री पौडेलले सुखौरामा पर्यटकीय सम्भावना रहे पनि सडक पूर्वाधारको अभावले त्यसको उपयोग हुन नसकेको बताउनुभयो। मधेसको समथर भूभागबाट केही दूरीमै पहाडी हावापानी र प्राकृतिक वातावरणको अनुभव गर्न सकिने यस गाउँलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने उहाँको भनाइ थियो।
तर, सुनवलको जर्गाहादेखि सुखौरासम्म जोड्ने तीन किलोमिटरभन्दा बढी सडक कच्ची र जीर्ण अवस्थामा रहँदा स्थानीयले सास्ती खेप्नुपरेको छ। वर्षायाममा हिलो र अन्य समयमा धुलोका कारण आवागमनमा समस्या हुने गरेको भन्दै उहाँले सडक स्तरोन्नतिका लागि बजेट तथा योजनाको व्यवस्था गर्न माग गर्नुभयो।
स्थानीयका समस्या सुनेपछि सांसद यादवले माग सम्बोधनका लागि सम्बन्धित निकायमा आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। सुखौराका समस्या आफूले यसअघि पनि संसद्मा उठाएको स्मरण गर्दै उहाँले स्थानीयका समस्या समाधानका लागि निरन्तर आवाज उठाउने बताउनुभयो।
करिब १६० घरधुरी रहेको सुखौरा गाउँ खुर्सानीबारीका रूपमा समेत परिचित छ। प्राकृतिक सौन्दर्य र पहाडी वातावरणका कारण पर्यटकीय सम्भावना बोकेको यस गाउँमा भने दशकौँदेखि जग्गाधनी पूर्जाको समस्या, प्रशासनिक पहुँचको असहजता र सडक पूर्वाधारको अभाव कायमै छ। स्थानीयले यी समस्या समाधान भएपछि गाउँको विकास र आर्थिक गतिविधिले गति लिने अपेक्षा गरेका छन्।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


↑