२०८३ कार्तिक १, शनिबार
24 खबर अपडेट

पाल्हीनन्दन गाउँपालिकाले बुझायो ३८ लाखभन्दा बढी विद्युत् महसुल

२०८३ कार्तिक १, शनिबार प्रकाशित (१ घण्टा अघि) ३८ पाठक संख्या

मोहन पौडेल
परासी, ३१ असोज । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले सडकबत्ती, गाउँपालिका कार्यालय तथा वडा कार्यालयहरूको विद्युत् महसुलबापत ३८ लाख बढी रकम भुक्तानी गरेको छ। गाउँपालिकाले पहिलोपटक बक्यौता रकमसँगै चालु आर्थिक वर्षको विद्युत् महसुलसमेत अग्रिम रूपमा बुझाएको हो।
गाउँपालिकाका लेखा अधिकृत सञ्जय शर्माका अनुसार नेपाल विद्युत् प्राधिकरण परासी वितरण केन्द्रलाई कुल ३८ लाख ७३ हजार ६०८ रुपैयाँ बुझाइएको हो। उक्त रकममध्ये सडकबत्तीको महसुलबापत २० लाख रुपैयाँ तथा गाउँपालिका कार्यालय र वडा कार्यालयहरूको बाँकी बक्यौता र चालु आर्थिक वर्षको अग्रिम महसुल समावेश छ।
विद्युत् महसुलको बक्यौता व्यवस्थापन गर्दै चालु आर्थिक वर्षको दायित्वसमेत समयमै भुक्तानी गर्ने उद्देश्यले रकम बुझाइएको लेखा अधिकृत शर्माले बताउनुभयो।
नेपाल विद्युत् प्राधिकरण परासी वितरण केन्द्रका प्रमुख कपिलराज पाण्डेका अनुसार पाल्हीनन्दन गाउँपालिकाले प्रत्येक वर्ष नयाँ बजेट कार्यान्वयनसँगै विद्युत् महसुल अग्रिम भुक्तानी गर्ने गरेको छ। प्राधिकरणले एक वर्षमा लाग्ने अनुमानित महसुलको विवरण उपलब्ध गराएपछि गाउँपालिकाले सोहीअनुसार रकम बुझाउने गरेको उहाँले जानकारी दिनुभयो।
प्रमुख पाण्डेका अनुसार वर्षको सुरुमै विद्युत् महसुल भुक्तानी गर्दा बक्यौता बढ्ने र जरिवाना तिर्नुपर्ने अवस्थाबाट बच्न सकिन्छ। साथै नियमानुसार उपलब्ध हुने छुटको लाभसमेत लिन सकिने उहाँको भनाइ छ।
सडकबत्ती तथा सरकारी कार्यालयहरूको विद्युत् महसुल समयमै भुक्तानी गर्ने गाउँपालिकाको यो अभ्यासले सार्वजनिक खर्च व्यवस्थापनलाई व्यवस्थित बनाउनुका साथै विद्युत् महसुलको बक्यौता बढ्न नदिने अपेक्षा गरिएको लेखा अधिकृत शर्माको भनाइ छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


↑