२०८१ पौष २९, सोमबार
24 खबर अपडेट

बर्दघाटमा उपेक्षित उष्ण प्रदेशीय रोग र मातृ तथा नवजात शिशुको एकिकृत सेवा प्रवाह प्रभावकारी बनाइने

२०८१ कार्तिक ११, आईतबार प्रकाशित ( महिना अघि) १७० पाठक संख्या

परासी, ११ कात्तिक । उपेक्षित उष्ण प्रदेशीय रोगहरु र मातृ तथा नवजात शिशुको एकिकृत सेवा प्रवाह प्रभावकारी बनाउने विषयमा पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाका सरोकारवालासँग अन्तरक्रिया गरिएको छ । बर्दघाट नगरपालिकाको आयोजना तथा ईन्द्रेणी सामाजिक विकास मञ्च र फेयर मेड फाउण्डेसन नेपालसँगको साझेदारीमा सञ्चालित आधारभूत  स्वास्थ्य परियोजनाको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
उक्त कार्यक्रममा उष्ण प्रदेशीय रोगहरु र मातृ नवजात शिशुको एकिकृत सेवाको विषयमा गरिएको अनुसन्धानको बारेमा जानकारी गराइएको थियो । कार्यक्रममा सहजीकरण गर्दै ईन्द्रेणी सामाजिक विकास मञ्चका कार्यबाहक कार्यकारी निर्देशक पुष्पराज आचार्यले परियोजना सञ्चालनपछि विशेषगरि आमाहरुमा कुष्ठरोग र हात्तीपाईले रोगको विषयमा रहेको परम्परागत धारणामा परिवर्तन आएको बताउनुभयो ।
सन् २०१९ मा स्वास्थ्य परियोजना लागू गर्दा आमाहरुमा कुष्ठरोग सम्बन्धि ज्ञान र धारणा परम्परागत थियो । त्यसबखत ४३ दशमलब २ प्रतिशत आमाहरुलाई मात्र कुष्ठरोगको लक्षणको विषयमा जानकारी थियो भने हाल उक्त संख्यामा वृद्धि भई करिब ७० प्रतिशत आमाहरुले कुष्ठरोगको लक्षणको विषयमा ज्ञान पाएका छन् । कुष्ठरोगको उपचार सम्भव छ भन्ने विषयमा २४ दशमलव ४ प्रतिशत आमाहरुलाई मात्र ज्ञान रहेकोमा हाल २८ दशमलव ८ प्रतिशतले ज्ञान पाएका छन् । परियोजना सञ्चालन हुँदा ५८ दशमलव ७ प्रतिशत आमाहरुमा कुष्ठरोग प्रभावितलाई परिवारबाट छुट्टै राख्नुपर्छ भन्ने धारणा थियो भने हाल १८ दशमलव ७ प्रतिशत आमाहरुमा मात्र यो धारणा कायम रहेको पाईएको छ ।
अनुसन्धानले हात्तीपाईले रोगको विषयमा पनि आमाहरुमा सकारात्मक परिवर्तन आएको देखाएको छ । आचार्यका अनुसार परियोजना शुरु हुँदाको समयमा १२ दशमलव २ प्रतिशतले हात्तीपाईले लामखुट्टेबाट सर्दछ भन्ने धारणा राख्दथे भने अहिले ४९ दशमलव ४ प्रतिशतले हात्तीपाईले सर्ने प्रक्रियाको बारेमा स्पष्ट भएका छन् । सन् २०१९ मा हात्तीपाईले रोगको लक्षणबारे ४५ दशमलव ३ प्रतिशत आमाहरुलाई मात्र जानकारी थियो भने हाल ६२ दशमलव ६ प्रतिशतले उक्त जानकारी प्राप्त गरेका छन् । औषधी सेवन गर्नेको संख्या पनि ९० प्रतिशत पुगेको छ ।
स्थानीय तहका पदाधिकारी र स्वास्थ्यकर्मीलाई उपेक्षित उष्ण प्रदेशीय रोग र मातृ नवजात शिशुको एकिकृत सेवा प्रवाहबारे जानकारी गराउन तथा स्थानीय तहका स्वास्थ्य संस्थाहरुबाट उक्त रोगहरुको एकिकृत सेवा प्रवाह सञ्चालन गर्ने वातावरण सिर्जना गर्न उक्त कार्यक्रम आयोजना गरिएको थियो । बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालको अध्यक्षता तथा उपमेयर रुद्रप्रकाश उपाध्यायको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा नगर भित्र रहेका सवै स्वास्थ्य संस्था तथा अस्पतालका प्रतिनिधिहरुको सहभागिता थियो ।
उक्त अन्तरक्रियाबाट बर्दघाट नगरपालिका भित्र कुनै पनि शिविर सञ्चालन गर्दा एकिकृत रुपमा गर्ने,सबै स्वास्थ्य संस्थाबाट उपेक्षित उष्ण प्रदेशीय रोग र मातृ नवजात शिशुको सेवा सञ्चालन गर्ने र प्रभावकारी बनाउने,उक्त रोगहरुबारे तालिम नलिएका स्वास्थ्यकर्मीहरुलाई तालिम दिने,आमा समूहमा सहजीकरण गर्दा स्वास्थ्यकर्मीहरुले उक्त रोगहरुबारे पनि जानकारी गराउने,पालिकामा फोकल पर्सन तोक्ने लगायतका कार्ययोजना तयार गरिएको मञ्चका कार्र्यकारी निर्देशक आचार्यले बताउनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस