२०८१ भाद्र २३, आईतबार
24 खबर अपडेट

रक्त सञ्चार सेवा प्रभावकारी बनाउन रेडक्रसद्धारा पाल्हीनन्दनमा अन्तरक्रिया

२०८१ अषाढ १२, मंगलबार प्रकाशित ( महिना अघि) १७० पाठक संख्या

परासी, ११ असार । रक्त सञ्चार सेवालाई प्रभावकारी बनाउने उद्देश्यले नेपाल रेडक्रस सोसाईटी पश्चिम नवलपरासीले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । रेडक्रसले आज पाल्हीनन्दन गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीसँग रक्तदान सेवालाई प्रभावकारी बनाउने विषयमा अन्तरक्रिया गरेको हो ।
जिल्लामा रगतको माग बढ्दो अवस्थामा रहेको तर रक्तदान गर्ने व्यक्तिहरुको कमी रहेको कारण पर्याप्त मात्रामा रगत परिपूर्ति गर्न नसकिने भएकोले स्थानीय तहहरुसँगको सहकार्यमा रक्त सञ्चार सेवालाई सुदृढ बनाईँदै लगिएको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका सभापति राजेन्द्र अग्रहरीले बताउनुभयो ।
रगत दान सबैभन्दा ठूलो दान भएकोले रगत जुनसुकै जातको भएतापनि त्यसको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । रेडक्रस सधैं विपद व्यवस्थापन तथा ब्लड बैंकहरूलाई आवश्यक सहयोग गर्न सदा तत्पर रहेको बताउँदै रेडक्रसको अभियानमा स्थानीय सरकारको साथ सहयोग आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो ।
सभापति अग्रहरीले जिल्लामा सञ्चालनमा रहेको रक्त सञ्चार सेवाको अवस्था, रगतको महत्व, रगतको माग र आपूर्ति लगायतका विषयमा जानकारी गराउनुभएको थियो । विशेषगरि जिल्लाको दक्षिणी क्षेत्रमा रगतको माग बढी रहेको तर सो क्षेत्रमा रक्तदान गर्न ईच्छुक व्यक्तिहरुको अभाव रहेकोले सचेतना अभियान आवश्यक रहेको उहाँको भनाई थियो ।
कर्यक्रममा गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता(दीपक)ले रगत व्यवस्थापनका लागि गाउँपालिकाले विगत देखि नै सहकार्य गर्दै रेडक्रसको अभियानमा सँगै रहेको बताउनुभयो । रेडक्रस मार्फत गाउँपालिकाबासीलाई निःशुल्क रगत उपलब्ध गराउँदै बताउँदै आगामी दिनमा पनि यसलाई निरन्तरता दिईने प्रतिबद्धता व्यक्त गर्नुभयो । गाउँपालिका उपाध्यक्ष फातिमा खातुन अन्सारीले रगत अभावकै कारण कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस् भनेर गाउँपालिकाले रेडक्रससँग सहकार्य गर्दै आएको बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत प्रेम बहादुर रोकाहाले गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीबाटै रक्तदान कार्यक्रमको आयोजना गरि रक्तदानको महत्वबारे चेतना फैलाउने कार्यको शुरुवात गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । रेडक्रस जिल्ला शाखका वरिष्ठ अधिकृत मुरारी गुप्ताले गाउँपालिकाले वार्षिक रुपमा बजेट विनियोजन गरि रगत आपूर्ति र विपद् व्यवस्थापनमा सहयोग गरेको बताउनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस