२०८३ आश्विन १७, शनिबार
24 खबर अपडेट

परासीको झरही नदी किनारमा तटबन्धसहित करिडोर सडक निर्माण गर्ने नगरपालिकाको योजना

२०७९ कार्तिक १२, शनिबार प्रकाशित (३ साल अघि) १८१९ पाठक संख्या

मोहन पौडेल
परासी, १२ कात्तिक । पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित झरही नदी किनारमा तटबन्धसहित करिडोर सडक बनाउने योजना अघि सारिएको छ । रामग्राम नगरपालिकाले झरही करिडोर नामबाट नदीको एकतर्फी पश्चिमतर्फको किनारमा तटबन्धसहितको सडक निर्माण गर्ने योजना अघि सारेको हो ।
झरही नदीमा वर्षेनी आउने बाढीका कारण हुने डुबान, कटानको समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्न र नदी किनारलाई सडक सञ्जालमा जोडेर पर्यटकीय आकर्षण गर्ने लक्ष्यका साथ झरही करिडोर सडक निर्माण गर्ने योजना अघि सारिएको रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले दैनिक24खवरलाई जानकारी दिनुभयो ।
करिडोर सडक निर्माणका लागि आज परासीको हाटबजार नजिकको सेतोपुलदेखि वडा नं १ सण्डा पुलसम्मको क्षेत्रमा स्थलगत अध्ययन अवलोकन गरिएको छ । प्राविधिक टोलीसहित मेयर यादवले आज उक्त क्षेत्रमा स्थलगत अध्ययन अवलोकन गर्दै स्थानीयवासीसँग आवश्यक सुझाव र परामर्श पनि लिनुभएको हो ।
झरही नदीको बाढीले सदरमुकाम परासी नै जोखिममा रहेकोले नदी व्यवस्थापन जरुरी रहेको र त्यसका लागि करिडोर सडक पनि एउटा माध्यम बन्ने मेयर यादवको भनाई छ । करिब साढे दुई किलोमिटर लम्बाईको उक्त करिडोर सडकले नदी नियन्त्रण मात्र नभई उक्त क्षेत्रमा यातायात सुविधा पुग्नुका साथै मर्निङ् वाकको लागि पनि उपयुक्त स्थल बन्ने अपेक्षा नगरपालिकाले गरेको छ । यसको माध्यमबाट झरही तटीय क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा पनि विकास गर्न सकिने मेयर यादवले बताउनुभयो ।
बहुउपयोगी मानिएको झरही करिडोर सडकको निर्माण कार्य चालु आवमै थालनी गर्ने तयारी नगरपालिकाको छ । रामग्राम नगरपालिकाका ईन्जिनियर सतिश गुप्ताका अनुसार नगरपालिकाले यस वर्ष आफ्नै एक्साभेटर खरिद गर्न लागेको र नदी सफाइका लागि रु चालिस लाख बजेट पनि विनियोजन गरेकोले यस वर्ष नदी किनारमा तटबन्धसहित ग्राभेल सडकको रुपमा निर्माण गर्ने नगरपालिकाको तयारी छ ।

J2 J3 J4

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%३%

प्रतिक्रिया दिनुहोस


↑