२०८३ आश्विन १७, शनिबार
24 खबर अपडेट

सेवाग्राहीलाई सुविधा दिन सुनवलका वडा कार्यालयहरुमा आजदेखि निःशुल्क फोटोकपी सेवा शुरु

२०७९ श्रावण १, आईतबार प्रकाशित (४ साल अघि) ११४३ पाठक संख्या

मोहन पौडेल
परासी, १ साउन । नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिकाले वडा कार्यालयमा आउने सेवाग्राहीको सुविधाका लागि वडावडामा निःशुल्क फोटोकपी सेवा शुरु गरेको छ । १३ वटै वडा कार्यालयलाई नगरपालिकाले फोटोकपी, स्क्यानीङ्सहितको प्रिन्टर मेसिन खरिद गरी हस्तान्तरण गरेको छ ।
वडा कार्यालयहरुबाट आजदेखि नै निःशुल्क फोटोकपी सेवा शुरु गरिएको नगर प्रमुख बिमला अर्यालले जानकारी दिनुभयो । वडा कार्यालयमा विभिन्न कामको शिलशिलामा आउने सेवाग्राहीले आफ्नो महत्वपूर्ण कागजपत्रको फोटोकपी गर्न अन्यत्र जानुपर्ने र त्यसो गर्दा खर्च बढ्ने र समय पनि व्यत्तित हुने भएकोले सेवाग्राहीलाई झण्झटबाट मुक्त गराउन वडा कार्यालयमै फोटोकपी सेवा उपलब्ध गराईएको उहाँले बताउनुभयो ।
वडा अध्यक्ष र वडा सचिवहरुलाई मेसिन हस्तान्तरण गर्दै नगर प्रमुख अर्यालले सेवाग्राहीलाई सहज, सरल र छिटो छरितो गुणस्तरीय सेवा दिने लक्ष्य अनुसार नगरका सबै वडा कार्यालयलाई आज फोटोकपी, स्क्यानीङ्सहितको प्रिन्टर मेसिन उपलब्ध गराईएको बताउनुभयो ।
फोटोकपी मेसिनको सही सदुपयोग गरी प्रभावकारी सेवा प्रवाह गर्न उहाँले निर्देशन पनि दिनुभयो । “निर्वाचनको समयमा गरेको प्रतिबद्धता र पहिलो कार्यापालिका बैठकबाट गरेको निर्णयलाई कार्यान्वयन गर्न हामी अघि बढेका हौँ”, नगर प्रमुख अर्यालले भन्नुभयो ।
वडा कार्यालयमा खटिएका बालमैत्री स्वयमसेवकलाई परिचालन गरी फोटोकपी सेवा उपलब्ध गराएको नगरपालिकाले जनाएको छ । सेवाग्राहीलाई सहजीकरण गर्न नगरपालिका कार्यालय र वडा कार्यालयहरुमा समेत नागरिक सहायता कक्ष स्थापना गर्ने तयारी पनि गरिएको नगर प्रमुख अर्यालले बताउनुभयो ।
बालमैत्री स्वयम्सेवकहरुलाई केही सुविधा थप गरी फोटोकपी सेवाका लागि खटाईएको र केही समयपछि सहायता कक्ष स्थापना गरी वडा कार्यालयबाटै निःशुल्क रुपमा निवेदन लेखन र नागरिकता फारम भर्ने तयारी गरिएको नगर उपप्रमुख सूर्यप्रसाद दुवेले जानकारी दिनुभयो ।
“हामी जनताको सेवाका लागि आएका छौँ, जनताले तिरेको कर जनताकै सुविधाका लागि प्रयोग गर्ने गरी हामी अघि बढेका छौँ, जनताले सहज र सरल रुपमा विना झण्झट सेवा लिन पाउने वातावरणको सिर्जना गर्न हामी लागिरहेका छौँ”, उहाँले भन्नुभयो । उहाँले कुनै पनि बहानामा सेवा अवरुद्ध नगर्न आग्रह गर्दै कुनै समस्या आएमा तत्काल जानकारी गराउन जोड दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%४%१%

प्रतिक्रिया दिनुहोस


↑