२०८३ बैशाख ३१, बिहिबार
24 खबर अपडेट

श्रम अडिट गर्न सहकारी संस्थाहरुलाई आग्रह

२०७९ अषाढ २३, बिहिबार प्रकाशित ( साल अघि) १००७ पाठक संख्या

मोहन पौडेल
परासी,२३ असार । श्रम तथा रोजगार कार्यालय बुटवलले कानुन अनुसार श्रम अडिट गर्न सहकारी संस्थाहरूलाई आग्रह गरेको छ । सरकारले प्रतिष्ठानहरूमा विद्यमान श्रम कानुनको प्रभावकारी कार्यान्वयन भए–नभएको अनुगमन, नियमन र निरीक्षण गर्न श्रम अडिट गर्नैैपर्ने बाध्यकारी व्यवस्था गरेको छ ।
कार्यालयले आज पश्चिम नवलपरासीको भूमहीमा श्रम अडिट र श्रम सम्बन्धि कानुनको विषयमा रोजगारदाताहरुमाझ सचेतनामूलक कार्यक्रम गरि अनिवार्य श्रम अडिट गर्न सहकारी संस्थाका पदाधिकारी तथा व्यवस्थापकहरुलाई आग्रह गरेको हो ।
श्रम ऐन र नियमावलीको प्रावधानअनुसार प्रतिष्ठानलाई श्रमिकप्रति दायित्वबोध गराउन ‘श्रम अडिट गर्नुपर्ने प्रावधान सरकारले गरेको छ ।   श्रम ऐन २०७४ को दफा २ अनुसार ‘प्रतिष्ठान’ भन्नाले मुनाफा आर्जन गर्ने वा मुनाफा नगर्ने गरी उद्योग, व्यवसाय वा सेवा गर्ने उद्देश्यले प्रचलित कानुनबमोजिम स्थापना, संस्थापना, दर्ता वा गठन भएको वा सञ्चालनमा रहेको कुनै कम्पनी, प्राइभेट फर्म, साझेदारी फर्म, सहकारी संस्था वा संघ वा अन्य संस्था सम्झनुपर्ने उल्लेख छ ।
श्रम नियमावली २०७५ को नियम ५६ मा मुलुकभर सञ्चालनमा रहेका प्रतिष्ठानहरूले गर्नु गराउनु पर्ने श्रम अडिटको सम्बन्धमा उल्लेख गरेको श्रम कार्यालय बुटवलका प्रमुख गिरीराज ज्ञवालीले बताउनुभयो । सो नियमावलीमा प्रत्येक वर्षको पुस मसान्तभित्र आफनो प्रतिष्ठानको सम्बन्धमा तोकेको मापदण्डबमोजिम प्रतिष्ठानको आफ्नै व्यवस्थापकीय तहको श्रमिक वा श्रम क्षेत्रसँग सम्बद्ध अन्य कुनै व्यक्ति वा संस्थामार्फत श्रम अडिट गराउनुपर्ने उहाँले बताउनुभयो ।अब श्रम नियमावलीअनुसार प्रतिष्ठानले स्थायी र अस्थायी नभएर नियमित, कार्यगत, समयगत, आंशिक लगायतका विभिन्न प्रकारका श्रमिकको संख्या, अवस्था, भुक्तानी र सामाजिक सुरक्षाका बारेमा जानकारी अद्यावधिक गर्नुपर्ने उल्लेख छ ।
सरकारले श्रमिकहरूको गुनासो कम गराइ प्रतिष्ठानप्रति उनीहरूको अपनत्व बढाउन यो प्रावधान लागू गरेको प्रमुख ज्ञवालीले बताउनुभयो ।  अनुगमन, नियमन र निरिक्षणको भार कम गर्ने, प्रतिष्ठान स्वयंलाई नीतिगत एवम कानुनी व्यवस्था कार्यन्वयन गराउन जिम्मेवार र जवाफदेही बनाउने यसको उद्देश्य रहेको उहाँले बताउनुभयो ।
श्रम अडिट प्रतिवेदनको एक-एक प्रति श्रम तथा रोजगार कार्यलय बुटवल , श्रम सम्बन्ध समिति र आफनो प्रतिष्ठानसँग सम्बन्धित नियामक निकायमा समेत दिनुपर्ने कार्यालयका अधिकृत कमल पौडेलले बताउनुभयो । उहाँका अनुसार श्रम अडिट गराउने प्रमुख दायित्व प्रत्येक प्रतिष्ठान स्वयंको भएकोले तोकिएको समयभित्र श्रम अडिट गराइ नियमानुसार तोकिएको निकायमा प्रतिवेदन पेश गर्नुपर्ने छ ।
नेपाल बचत तथा ऋण सहकारी संघ लिमिटेड बुटवल शाखाको समन्वय रहेको उक्त कार्यक्रममा प्रमुख अतिथि नेफस्कुनका सदस्य विभाग सदस्य लेखनाथ खरेलले सहकारीलाई श्रम अडिट गर्न आग्रह गर्नुभयो । कार्यक्रममा जिल्ला स्थित नेफस्कुनमा आबद्ध सहकारीका सञ्चालक तथा व्यवस्थापकहरुको सहभागिता रहेको नेफस्कुन फिल्ड कार्यालय भूमहीका ईन्चार्ज नेत्र सापकोटाले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस