२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

नवलपरासीमा ९३ जनामा सिकलसेल र थालासेमियाका बाहक फेला,विवाहपूर्व रगत जाँच र कुण्डली मिलाउन सुझाव

२०८० अषाढ ३१, आईतबार प्रकाशित ( साल अघि) १७९८ पाठक संख्या

मोहन पौडेल/दैनिक24 खबर
परासी, ३१ असार । पश्चिम नवलपरासीमा ९३ जना सिकलसेल र थालासेमियाका बाहक फेला परेका छन् । स्वास्थ्य कार्यालयले जिल्लाका विभिन्न पालिकामा सिकलसेल तथा थालासेमियाको अवस्था पहिचानका लागि समुदाय स्तरमा स्क्रिनिङ्ग शिविर मार्फत रगत संकलन गरी नमूना परीक्षण गर्दा नतिजा प्राप्त भएका ८६५ मध्येमा ९३ जना सिकलसेल र थालासेमियाका बाहक फेला परेका हुन् ।
स्वास्थ्य कार्यालयले गत आर्थिक वर्षमा समुदाय स्तरबाट एक हजार १८८ जनाको रगत संकलन गरी नमूना परीक्षण गरेको थियो । त्यसमध्ये ३२३ जनाको नतिजा प्राप्त हुन बाँकी छ । हालसम्म नतिजा प्राप्त भएका ८६५ मध्ये सिकलसेलका ३३ र थालासेमियाका ६० जना बाहक फेला परेको कार्यालयका वरिष्ठ मलेरिया निरीक्षक देवीलाल पौडेलले जानकारी दिनुभयो ।
मानव रगतमा पाईने रातो गोलाकार रक्तकणिकाको स्वरुप परिवर्तन भई हसिया जस्तै आकारमा रुपान्तरण हुने रक्तअल्पता सम्बन्धी रोगलाई सिकल सेल रोग भनिन्छ । सिकलसेल रोग विशेषगरी थारु समुदायमा देखिएको वंशाणुगत रोग हो । अहिले रोग नदेखिए पनि उसबाट जन्मेको बच्चामा रोग सर्न सक्नेलाई ‘बाहक’ भनिएको छ । अहिलेको पुस्तामा रोग देखिएको छैन । उसका सन्तानमा रोग देखिन सक्नेलाई बाहक भन्ने गरिएको छ ।
स्वास्थ्य कार्यालयले पनि जिल्लामा थारु बाहुल्य क्षेत्रमा रोगको पहिचानका लागि रगत नमूना संकलन गरी परीक्षण गरेको हो । पाल्हीनन्दन बाहेक जिल्लाका अन्य पालिकामा गरिएको नमूना परीक्षणको क्रममा उक्त रोगका बिरामी फेला नपरेपनि बाहक भने फेला परेका छन् ।
मलेरिया निरीक्षक पौडेलका अनुसार सरावलको वडा न.१ मा १३४ जनाको रगत परीक्षण गर्दा १२ जना सिकलसेल र थालासेमियाका बाहक फेला परेका थिए । वडा न..२ मा ११७ जनाको परीक्षणमा नौ जना बाहक फेला परेका थिए । ती ९ जनाको घरपरिवारका ३२ जनामा कन्ट्याक्ट टे«सिङ् गर्दा थप नौ जना बाहक फेला परेको पौडेलले बताउनुभयो । सरावलकै वडा न.३ मा ९१ जनाको रगत नमूना संकलन गरि परीक्षणका लागि पठाईएको छ ।
सुस्ता गाउँपालिकाको वडा न.१ र २ मा १२१ जनाको रगत परीक्षणबाट १२ जनामा सिकलसेल र थालासेमियाका बाहक फेला परेका छन् भने ती १२ जनाको घरपरिवारका २६ जनामा गरिएको कन्ट्याक्ट टे«सिङ्को क्रममा थप ११ जना बाहक फेला परेका छन् । रामग्राम नगरपालिकाको वडा न.१६ मा ८८ जनाको रगत नमूना परीक्षण गरिएकोमा १९ जना बाहक पत्ता लागेका छन् ।
ती १९ जनाको घरपरिवारका ४१ जनाको पनि रगत संकलन गरी परीक्षणका लागि पठाईएको छ । रामग्रामकै अमरौट र अमरवनबाट ११८ जनाको रगत नमूना संकलन गरी परीक्षणका लागि पठाईएको कार्यालयले जनाएको छ । मलेरिया निरीक्षक पौडेलका अनुसार प्रतापपुर गाउँपालिकाको वडा नं.१ र २ मा १८३ जनाको रगत परीक्षण गर्दा १२ जनामा सिकलसेल र थालासेमियाको बाहक पत्ता लागेको छ भने बर्दघाट नगरपालिकाको वडा न.१६ मा १२३ जनाको रगत परीक्षण गर्दा १० जनामा बाहक फेला परेको छ । ती दश जनाको घरपरिवारका ३० जनाको पनि रगत संकलन गरी परीक्षणका लागि पठाईएको छ । सुनवल नगरपालिका वडा नं.स्वाठीमा ८४ जनाको रगत संकलन गरी परीक्षणमा पठाईएको छ ।
थारू समुदायमा देखिने सिकलसेल रोग रोकथामका लागि रगतजाँच गरेर विवाह कुण्डली मिलाउन चिकित्सकले सुझाव दिएका छन् । सिकलसेलबाट आफ्ना सन्तानलाई बचाउनका लागि अनिवार्यरूपमा रगतजाँच गरेर विवाह कुण्डली मिलाएर मात्र विवाह गरेमा यसको नियन्त्रण सहज हुने पृथ्वीचन्द्र अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.मोहम्मद नुरुल होदाले बताउनुभयो ।
सिकलसेल विशेषज्ञ डा राजन पाण्डेले तयार पारेको विवाह कुण्डलीलाई फ्लो गर्न पनि उहाँले आग्रह गर्नुभयो । डा.पाण्डेले तयार गरेको विवाह कुण्डलीमा सिकलसेलका बिरामी–बिरामीबीच विवाह गर्नै नमिल्ने उल्लेख गरिएको छ । पचास प्रतिशत बिरामी र ५० प्रतिशत बाहकले पनि विवाह गर्न नमिल्ने भनिएको छ । पच्चीस प्रतिशत सामान्य, २५ प्रतिशत बिरामी र ५० प्रतिशत बाहकका बीचमा विवाह गर्दा पनि सोचविचार गर्नुपर्ने भनिएको छ ।
बाहक–बाहक, ५० प्रतिशत सामान्य र ५० प्रतिशत बाहकका बीचमा विवाह गर्न मिल्ने उल्लेख गरिएको छ । सामान्यता विवाह गर्दा चिना हेर्ने गरिन्छ । तर थारू समुदायमा भने रगतजाँच गर्नुपर्ने अवस्था आएको छ । सन्तानलाई सिकलसेलबाट बचाउनका लागि रगत जाँच गरेर मात्रै कुण्डली मिलाउनुपर्ने भएको छ ।
स्वास्थ्य कार्यालय परासीका प्रमुख ओमप्रकाश पन्थीले सिकलसेल र थालासेमियाका बिरामी र बाहक पत्ता लगाएर समुदायमा विवाह कुण्डलीका बारेमा जानकारी दिने काम भइरहेको बताउनुभयो । पश्चिम नवलपरासीमा पृथ्वीचन्द्र अस्पताल परासीमा सिकलसेलको निःशुल्क परीक्षण र उपचारको व्यवस्था रहेको उहाँले बताउनुभयो । यसको रोकथामका लागि नवजात शिशुहरुको वंशाणुगत रोगहरु सम्बन्धी स्क्रिनिङ्ग गर्ने, विद्यालयमा किशोर किशोरीहरुको अनिवार्य सिकलसेल र थालासेमिया सम्बन्धी स्क्रिनिङ् गर्ने, गर्भवती महिलाले अनिवार्य रुपमा जाँच गराउने, स्वास्थ्य शिक्षा र विवाह कुण्डलीबारे जानकारी दिने र समुदाय स्तरमा रगत संकलन गरी परीक्षण मार्फत सिकलसेलका बिरामी पहिचान र उपचारका लागि प्रोत्साहन लगायतका कार्य गरी यो रोग रोकथामका लागि स्वास्थ्य कार्यालयले कार्य गरिरहेको प्रमुख पन्थीले जानकारी दिनुभयो ।
सिकसलेस भएमा मस्तिष्कमा पक्षघात, शरिरमा पीडा, अन्य रोगहरुको संक्रमण, जण्डिसको जस्तै लक्षण देखिने, पत्थरी, फोक्सोमा रुकावट, मृगौलामा खराबी, पुरुषको लिंग उत्तेजित हुँदा पीडा हुने, फियो वा कलेजोमा रक्त सञ्जार रुकावट आदि लक्षणहरु देखिने चिकित्सकले जनाएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस