२०८३ बैशाख १, मंगलबार
24 खबर अपडेट

आम नागरिकलाई पनि मन्त्रीसरह आर्थिक रूपमा सशक्त बनाउने वातावरण निर्माण गरियोस् : धरेन्द्र यादव

२०८३ बैशाख १, मंगलबार प्रकाशित ( घण्टा अघि) १५१ पाठक संख्या

मोहन पौडेल
परासी, १ वैशाख । जनता समाजवादी पार्टी नेपाल (जसपा) नवलपरासीका अध्यक्ष धरेन्द्र यादवले आम नागरिकलाई पनि मन्त्रीसरह आर्थिक रूपमा सशक्त बनाउने वातावरण निर्माण गर्न सरकारसँग माग गर्नुृभएको छ ।
परासी प्रेस क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै यादवले वर्तमान सरकारका मन्त्रीहरूजस्तै सुविधा र सम्पत्ति आम जनताले पनि प्राप्त गर्न सक्ने अवस्था सिर्जना गर्नुपर्ने बताउनुभएको हो । “अहिलेका मन्त्रीहरुको सम्पत्ति अथाह देखियो, अब जनता पनि मन्त्रीजस्तै धनी बन्न सकून्, त्यसका लागि नीतिगत र व्यवहारिक सुधार आवश्यक छ,” उहाँले भन्नुभयो ।
अध्यक्ष यादवले विगतका सरकारहरूमा देखिएको भ्रष्टाचार दोहोरिन नहुने चेतावनी दिँदै वर्तमान सरकारका युवा मन्त्रीहरूको सम्पत्तिको स्रोतबारे पारदर्शिता आवश्यक रहेको उल्लेख गर्नुभयो । बालेन सरकारले निर्णयहरू छिटो गरे पनि कार्यान्वयन पक्ष कमजोर रहेको उहाँको आरोप छ। “नीति बन्ने गति ठीक छ, तर कार्यान्वयनमा गति देखिएको छैन,” उहाँले भन्नुभयो ।
नेपाली कांग्रेस र नेकपा एमालेका कमीकमजोरीका कारण मधेस केन्द्रित दलहरू कमजोर बनेको उहाँको जिकिर थियो । साथै आफ्नै दलभित्र पनि कमजोरी रहेको स्वीकार्दै आत्मसमिक्षा आवश्यक रहेको उहाँले बताउनुभयो । यद्यपि देशको कार्यकारी तहमा मधेसी मूलका व्यक्तिहरूको उपस्थिति बढ्नु सकारात्मक उपलब्धि भएको उहाँको भनाइ छ। “यो हाम्रो आन्दोलनको उपज हो, यसमा हामीलाई गर्व छ,” उहाँले भन्नुभयो ।
अध्यक्ष यादवले नयाँ वर्षको शुभकामना व्यक्त गर्दै भन्नुभयो, “वर्तमान सरकार स्थिर रहोस्, पाँच वर्ष कार्यकाल पूरा गरोस् र देशलाई समृद्धि तथा विकासको दिशामा अघि बढाउँदै रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य सेवा निःशुल्क गरोस् ।”

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस