२०८२ फागुन २५, सोमबार
24 खबर अपडेट

रामग्राममा नारी दिवसको अवसरमा महिला सशक्तीकरण अभिमुखीकरण, स्वास्थ्य र सचेतनामा जोड

२०८२ फागुन २५, सोमबार प्रकाशित ( घण्टा अघि) ९३ पाठक संख्या

परासी, २५ फागुन । ११६औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर रामग्राममा महिला सशक्तीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। रामग्राम जेसीज र रामग्राम महिला जेसीजको संयुक्त आयोजनामा आइतबार सरस्वती मावि शान्तिचौरमा उक्त कार्यक्रम सम्पन्न भएको हो।
किशोर किशोरी तथा महिलाहरूलाई आफ्नो स्वास्थ्य र अधिकारबारे सचेत बनाउने उद्देश्यले उक्त कार्यक्रम गरिएको रामग्राम जेसीज वर्ष २०२६ का अध्यक्ष मुकेश नारायण लोनियाले बताउनुभयो । कार्यक्रममा किशोर–किशोरी तथा महिलाहरूलाई लक्षित गर्दै महिला स्वास्थ्य, प्रजनन अधिकार र जीवनशैलीसँग सम्बन्धित महत्वपूर्ण विषयहरूमा जानकारी प्रदान गरिएको थियो।
प्रशिक्षणका क्रममा स्थायी साधनहरूको प्रयोग कसरी गर्ने, किशोर–किशोरीहरूमा देखिने शारीरिक तथा मानसिक परिवर्तनका समस्या तथा समाधान, पाठेघर क्यान्सर सम्बन्धी जानकारी र सुरक्षित गर्भपतन जस्ता विषयमा विस्तृत सहजीकरण गरिएको रामग्राम महिला जेसीज वर्ष २०२६ की अध्यक्ष बबिता जयसवालले दैनिक ट्वान्टिफोर खबर डटकमलाई जानकारी दिनुभयो ।
उक्त अवसरमा मेरी स्टोप्स भैरहवाका दिपक महत तथा मेरी स्टोप्स बर्दघाटका अनुराग रौनियारले सहजीकरण गर्दै सहभागीलाई स्वास्थ्यसम्बन्धी व्यवहारिक र उपयोगी जानकारी दिनुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि रामग्राम नगरपालिकाकी उपमेयर सम्झना चौधरीले महिलाको स्वास्थ्य, अधिकार र सशक्तीकरणका विषयमा यस्ता कार्यक्रमले समाजमा सकारात्मक चेतना अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा किशोर–किशोरी तथा स्थानीय महिलाहरूको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ। उक्त अवसरमा रामग्राम नगरपालिकाकी कार्यपालिका सदस्य नानु कुमारी खड्का, रामग्राम जेसीजका पूर्व अध्यक्ष मोहन पौडेल, रामग्राम महिला जेसीजकी पूर्व अध्यक्ष विनिता खड्का,कार्यक्रम संयोजक अन्नु सुनार, अस्मिता काफ्ले लगायतले शुभकामना व्यक्त गर्नुभएको रामग्राम जेसीजकी महासचिव पुष्पा खनालले जानकारी दिनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस