

परासी, ५ फागुन । पश्चिम नवलपरासीमा राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ विभिन्न कार्यक्रमसहित तीन दिन मनाइने भएको छ ।
दिवस मनाउन जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख भगौती यादव(रुदल)को संयोजकत्वमा जिल्ला समारोह समिति गठन गरिएको छ । मंगलबार सम्पन्न बैठकले यही फागुन ६,७ र ८ गरी तीन दिन विभिन्न रचनात्मक कार्यक्रम गरी प्रजातन्त्र दिवस भव्यताका साथ मनाउने निर्णय गरेको जिसस प्रमुख एवं जिल्ला समारोह समितिका संयोजक यादवले जानकारी दिनुभयो ।
उहाँका अनुसार फागुन ६ देखि ८ गतेसम्म जिल्लास्थित सरकारी निकाय,संघ संस्था, शैक्षिक संस्था तथा जिल्लावासी सबैलाई घरघरमा दीप प्रज्वलन गर्न तथा राष्ट्रिय झण्डा फहराउन आह्वान गरिएको जानकारी दिनुभयो ।
समितिका सदस्य एवं प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले फागुन ६ गते बुधबार आआफ्नो कार्यालय, संघ संस्था तथा सार्वजनिक स्थलमा सरसफाइ गर्ने,फागुन ७ गते विहान परासी बुद्धचोकबाट प्रभातफेरी गर्ने, फरक क्षमता भएका विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गर्ने तथा विरामीलाई फलफूल वितरण गर्ने तथा साँझ दीपप्रज्वलन गर्ने कार्यक्रम तय गरिएको छ ।
जिल्ला मूल समारोह समितिमा जिल्लास्थित स्थानीय तहका प्रमुखहरु, प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरु, सरकारी कार्यालयका प्रमुखहरु, जिल्लास्थित संघ संस्थाका प्रमुखहरु,पत्रकार, निजी क्षेत्र, नागरिक समाज, रेडक्रसका प्रमुखहरु सदस्य रहेका छन् ।