२०८२ माघ २८, मंगलबार
24 खबर अपडेट

युवाको प्रतिनिधित्व र नीतिगत विकासको एजेन्डासहित नवलपरासी–१ को चुनावी मैदानमा विजय कँडेल

२०८२ माघ २८, मंगलबार प्रकाशित ( घण्टा अघि) ७ पाठक संख्या

परासी, २७ माघ । पश्चिम नवलपरासी क्षेत्र नं.१ मा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका उम्मेदवार विजय कँडेल युवाको प्रतिनिधित्व र नीतिगत विकासको एजेन्डासहित चुनावी मैदानमा उत्रिनुभएको छ ।
कँडेलले यस क्षेत्रबाट पुरानै अनुहारहरू पटक–पटक संसद् पुगे पनि जनताको जीवनस्तरमा अपेक्षित परिवर्तन नआएको भन्दै युवाको नेतृत्व आवश्यक भएको बताउनुभयो । “यो संसदीय चुनाव हो, सडक–पुलको ढ्यांग्रो मात्र पिटेर हुँदैन, समग्र विकासको नीति बनाउन संसद् जानुपर्छ,” उहाँले भन्नुभयो।
आफू पढेलेखेको, क्षेत्रको वस्तुस्थिति बुझेको र जेनजी आन्दोलनको मर्म बुझ्ने युवा भएकाले उम्मेदवारी दिएको कँडेलको भनाइ छ। उहाँले एकपटक मत परिवर्तन गरी युवालाई अवसर दिन आग्रह गर्दै भन्नुभयो, “परिवर्तन के हो, हामी देखाउँछौँ।”
यदि आफू निर्वाचित भएमा युवा सशक्तिकरण, रोजगारी, शिक्षा, स्वास्थ्य, कृषि र खेलकुद विकास आफ्नो प्राथमिकता रहने कँडेलले स्पष्ट पार्नुभयो । “यहाँका युवाहरू बेरोजगार छन्, रोहित पौडेल, बिमल घर्ति मगर जस्ता प्रतिभा हुँदा पनि खेल क्षेत्रको विकास र सम्मान देखिँदैन,” उहाँले गुनासो गर्नुभयो ।
कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउने नीति लिने बताउँदै उहाँले उखु किसानलाई मालिक बनाउने, उत्पादन वृद्धि गर्दै बजारीकरणका लागि कनेक्टिभिटी विस्तार गर्ने योजना अघि सार्नुभएको छ । आर्सेनिकयुक्त खानेपानीका कारण फैलिएको स्वास्थ्य समस्यालाई गम्भीर चुनौतीको रूपमा लिँदै समाधानका लागि सदनबाट आवाज उठाउने प्रतिबद्धता उहाँले जनाउनुभयो । “वर्षाैँदेखि हामीलाई भोट बैंक र दास बनाइएको छ,” कँडेलले भन्नुभयो, “लुम्बिनी प्रदेशको ‘कर्णाली’ जस्तै यो क्षेत्र अझै पनि दुर्गम अवस्थामा छ, परिवर्तन कहिले आउने?”
पर्यटनमा अथाह सम्भावना रहेको उल्लेख गर्दै उहाँले भारतको बिहार र उत्तर प्रदेशसँग जोडिएको भूगोललाई उपयोग गर्दै पर्यटक सर्किट विकास गर्न सकिने एजेन्डा अघि सार्नुभयो । यसले बर्दघाट, गोपिगञ्ज, बेलाटारी, फेनहरा, कुडिया लगायतका बजारलाई व्यापारिक केन्द्र बनाउँदै युवालाई रोजगारी दिने उहाँको दाबी छ।
पार्टी अध्यक्ष कुलमान घिसिङ मन्त्री हुँदा सुस्ताको तटबन्धका लागि विनियोजित १४ करोड रुपैयाँ राजनीतिक कारणले फ्रिज गराउने प्रयास भएको भन्दै कँडेलले त्यसको विरोध पनि गर्नुभयो । “म पदमा नहुँदा पनि यहाँको विकासका लागि पहल गरिरहेको छु, अवसर पाएँ भने अझ सशक्त रूपमा काम गर्छु,” उहाँले भन्नुभयो, “सदनमा बोलेर मात्र होइन, आवश्यक परे सडकमा संघर्ष गरेर पनि यहाँका मुद्दा उठाउँछु। म आन्दोलनबाट आएको मान्छे हुँ।”
युवालाई एकजुट हुन आह्वान गर्दै उहाँले भन्नुभयो, “युवा एकजुट भए परिवर्तन सम्भव छ, हामी नयाँ सोच हौँ, जितेपछि परिवर्तनको उदाहरण दिन्छौँ।”

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस