

परासी, २६ माघ । पश्चिम नवलपरासी क्षेत्र नं. १ बाट आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले)का उम्मेदवार रामप्रसाद पाण्डेले आफूले विगतमा गरेको काम नै आगामी निर्वाचनमा जितको मुख्य आधार भएको दाबी गर्नुभएको छ।
सुस्ता गाउँपालिकाका पूर्व अध्यक्षसमेत रहनु भएका पाण्डेले सीमित स्रोतसाधनका बाबजुद सुस्ताको समग्र विकासमा उल्लेखनीय काम गरेको स्मरण गर्दै भन्नुभयो, “मैले अध्यक्ष हुँदा गरेका कामकै कारण जनताले मलाई चिनेका छन्, त्यही विश्वास नै आजको बलियो आधार हो।”
सुस्ताको विकासमा पु¥याएको योगदानको कदरस्वरूप सरकारबाट विभूषण प्राप्त गरेपछि आफू अझै जिम्मेवार बनेको उहाँको भनाइ छ। “त्यसैबाट प्रेरित भएर अब सुस्तामा मात्र सीमित नभई क्षेत्र नं. १ का सम्पूर्ण नागरिकको सुख–दुःखमा साथ दिनुपर्छ भन्ने भावना लिएर निर्वाचनमा होमिएको हुँ,” उहाँले भन्नुभयो।
पाँच वर्ष सुस्ता गाउँपालिकाको नेतृत्व गर्दा राजनीतिक आस्थाका आधारमा कुनै विभेद नगरेको उल्लेख गर्दै पाण्डेले आफू सबै नागरिकको मन–मस्तिष्कमा बस्न सफल भएको दाबी गर्नुभयो। “मैले कसैको पनि अहित गरेको छैन, त्यसैले मतदाताले दलभन्दा पनि योग्य उम्मेदवारका रूपमा मलाई विश्वास गर्नुहुनेछ,” उहाँले भन्नुभयो।
उहाँको नेतृत्वमा सुस्ता गाउँपालिकामा पूर्वाधार विकास, कृषि, पर्यटन, खानेपानी, सुस्ता झोलुंगे पुल, उज्यालो सुस्ता, सुस्ता आवास कार्यक्रम तथा अध्यक्ष नमुना सडकजस्ता योजना सञ्चालन भएका थिए। यस्तै प्रतापपुर गाउँपालिका, बर्दघाट नगरपालिका र सरावल गाउँपालिकामा पनि एमाले नेतृत्वमा उल्लेखनीय विकास कार्य भएका कारण क्षेत्रभर एमालेप्रति जनविश्वास बलियो रहेको पाण्डेको भनाइ छ।
विद्यालय सञ्चालन गर्दै शिक्षा क्षेत्रमा योगदान गर्नुभएका उहाँले हजारौँ विद्यार्थी उत्पादन गरेको उल्लेख गर्दै अभिभावकहरूसँगको सम्बन्ध नै आफ्नो ठूलो पूँजी भएको बताउनुभयो। “मसँग पैसा छैन, पैसाले भोट किन्न सक्दिनँ, तर जनताको मनमा बसेको छु,” उहाँले भन्नुभयो।
निर्वाचनमा विजयी भए बर्दघाट–दुम्किबास सडकको दाउन्ने खण्डको वैकल्पिक मार्गका रूपमा बर्दघाट–संसारकोट–दुम्किबास सडक निर्माणलाई प्राथमिकता दिने उहाँको योजना छ। यस्तै अधुरो हुलाकी सडक, खजुरा खोलाको पुल निर्माण, बहुखेती प्रवद्र्धन, कृषि विद्युतीकरण, सिँचाइ व्यवस्थापन, शिक्षा र स्वास्थ्य सुधार तथा पर्यटन विस्तारमा पहल गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो।
सुस्ता र नेपालकै लामो झोलुंगे पुललाई जोडेर पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने, अनोमाघाटको विकासमा विशेष ध्यान दिने योजना पनि पाण्डेले अघि सार्नुभएको छ। “म यही माटोमा हुर्केको मान्छे हुँ, यहाँका समस्या मैले नजिकबाट बुझेको छु,” भन्दै उहाँले आफ्नो विजय सुनिश्चित रहेको दाबी गर्नुभयो।
उम्मेदवार पाण्डेले जनताको चाहना र मागलाई मध्यनजर गर्दै गण्डकी प्रदेशमा गाभिएको त्रिवेणी क्षेत्रलाई लुम्बिनी प्रदेशमै फिर्ता ल्याउन पहल गर्ने पनि बताउनुभयो ।