२०८२ माघ २७, सोमबार
24 खबर अपडेट

विकासको निरन्तरता, सुशासन र महिला अधिकारको मुद्धा प्राथमिकतामा : नेकपा उम्मेदवार जलेसा

२०८२ माघ २७, सोमबार प्रकाशित ( घण्टा अघि) ६४ पाठक संख्या

परासी, २६ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पश्चिम नवलपरासी क्षेत्र नं. १ बाट नेपाली कम्युनिष्ट पार्टीकी उम्मेदवार डा.सिन्धु जलेसा बुढाथोकीले विकासको निरन्तरता, सुशासन र महिला अधिकारका मुद्दालाई केन्द्रमा राखेर चुनावी मैदान उत्रिएको बताउनुभएको छ । उहाँले यस क्षेत्रमा आफू बलियो दाबेदार भएको जिकिर गर्नुभयो ।
उम्मेदवार बुढाथोकीले भ्रष्टाचार र विभेदको अन्त्य गर्दै कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी तथा भौतिक पूर्वाधारको विकासमार्फत समृद्ध नवलपरासी निर्माण गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले जेन–जी युवाहरूको माग सम्बोधन गर्दै डिजिटल युगअनुसार जिल्लामा प्रविधिगत पूर्वाधार निर्माणमा विशेष ध्यान दिने बताउनुभयो।
“पश्चिम नवलपरासी उर्बर कृषिभूमि हो,आधुनिकीकरण र डिजिटल प्रविधिको प्रयोगमार्फत सिँचाइ, उन्नत बिउ र मलको सहज उपलब्धता सुनिश्चित गरिनेछ,” उहाँले भन्नुभयो।
विगतमा संविधानसभा सदस्य रहँदा आफूले यस क्षेत्रका लागि ठोस विकास कार्य गरेको दाबी गर्दै बुढाथोकीले बर्दघाटमा चिसापानी अस्पताल स्थापना, धुरकोट, सुखौरा, आम्बास, बाँसखोलालगायत पहाडी गाउँमा विद्युतीकरण, सडक ट्रयाक खोल्ने काम, स्वास्थ्य चौकी स्थापना तथा जग्गा समस्या समाधानमा भूमिका खेलेको उल्लेख गर्नुभयो।
बर्दघाट–१५ मा जिर्ण खेलमैदान स्तरोन्नतिका लागि बजेट विनियोजन, गंगाबस्तीमा झोलुंगे पुल निर्माण, आमा समूहहरूलाई तालिम र भवन, मठमन्दिर निर्माण तथा चिसापानी–मझौनीसहितका पुराना सडक स्तरोन्नतिका कामहरू पनि आफ्नै पहलमा सम्पन्न भएको उहाँको भनाइ छ।
आफू स्पष्ट वक्ता र सधैं जनताको पक्षमा बोल्ने व्यक्ति भएको बताउँदै उहाँले आफू आर्थिक रूपमा निष्कलंक रहेको दाबी गर्नुभयो। “म कुनै पनि भ्रष्टाचारमा मुछिएको छैन, त्यसैले जनताको विश्वास मेरो साथमा छ,” उहाँले भन्नुभयो।
उहाँले आफू यस क्षेत्रका महिलाहरूको साझा उम्मेदवार भएको उल्लेख गर्दै गरिब, किसान, मजदुर, भूमिहीन, मुस्लिम, दलितलगायत उत्पीडित समुदायको हकअधिकार सुनिश्चित गर्न र संविधानका कमजोरी संशोधन गर्न जनताको समर्थन आवश्यक रहेको बताउनुभयो।
आफू अब्बल उम्मेदवार रहेको बताउँदै बुढाथोकीले १५ हजारदेखि १९ हजार मत प्राप्त हुने अनुमान गर्दै यसपटक महिलालाई अवसर दिन मतदाताले साथ दिने विश्वास व्यक्त गर्नुभयो।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस