

परासी,२० माघ । नेपाली कांग्रेसबाट पश्चिम नवलपरासी क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार एवं विघटित प्रतिनिधिसभाका सदस्य बिनोद चौधरीले तीन वर्षे कार्यकालमा विकासको नाममा ठोस उपलब्धि हासिल गर्न नसकेको भन्दै स्थानीय जनतामा व्यापक असन्तोष देखिएको छ।
विकासका ठूला–ठूला आश्वासन दिएर चुनाव जितेका चौधरीले न योजनागत काम अघि बढाउन सके, न त जनताको अपेक्षाअनुसार जिल्लामा उपस्थित नै हुन सकेको मतदाताको गुनासो छ। ‘कामभन्दा प्रचार बढी’ र ‘नगरेको कामको जस लिने’ प्रवृत्तिका कारण उनीमाथि मिडिया ट्रायल गर्ने आरोप समेत लाग्दै आएको छ।
अर्बपति उद्योगपतिका रूपमा चिनिएका चौधरीको चिल्ला भाषण र आकर्षक आश्वासनमा मत दिएको भन्दै धेरै मतदाताले अहिले पछुतो मान्न थालेका छन्। पुनः यही निर्वाचन क्षेत्रमा उम्मेदवार बनेर उनी नयाँ भ्रम फैलाउँदै नवलपरासी आइपुगेको स्थानीयको टिप्पणी छ।
चुनाव जित्दा लुम्बिनी प्रदेशका मन्त्री देवकरण प्रसाद कलवारको साथ निर्णायक बनेको भए पनि पछि विकासमा उदासीन देखिएपछि चौधरीबाट जिल्लाका प्रभावशाली नेताहरू क्रमशः टाढिँदै गएको बताइन्छ। पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कँडेल र प्रदेश मन्त्री कलवारले समेत उनको साथ छोडेको चर्चा छ। पछिल्लो समय नवलपरासी–२ मा नेपाली कांग्रेसका भरत थापालाई टिकट दिलाउन चौधरीले भूमिका खेलेको भन्दै कँडेल असन्तुष्ट बनेको स्रोतको दाबी छ।
जिल्लामा ‘आइकन’ बन्ने अपेक्षा गरिएका चौधरी जिल्लाभन्दा आफ्नै व्यापारमा बढी व्यस्त रहेको स्थानीय नेताहरूको आरोप छ। उनी जिल्लामा कहिले आए, कहिले गए भन्ने कुरा मतदातालाई समेत थाहा नहुने अवस्था बनेको छ।
एक कार्यक्रममा उनले सुस्तामा रोकिएको झोलुङ्गे पुल आफ्नै पहलमा सम्पन्न भएको दाबी गरे भने सुस्ता पारीको विद्युतीकरणको जस समेत आफैंले लिन खोजेको भन्दै आलोचना चर्किएको छ। अरूले सुरु वा सम्पन्न गरेका योजनाको श्रेय लिन चौधरी ‘खप्पिस’ रहेको जनताको टिप्पणी छ।
अघिल्लो निर्वाचनताका उनले मल कारखाना स्थापना गर्ने, केराको चिप्स उद्योग खोल्ने, युवालाई स्वदेशमै रोजगारी दिने जस्ता महत्वाकांक्षी योजना सार्वजनिक गरेका थिए। सिजी स्न्याक्स प्रालि दर्ता गरेर रोजगारी दिने प्रतिबद्धता जनाए पनि पछि सचिवालयमै म्यानपावर सञ्चालन गरी युवालाई विदेश पठाउन थालेको आरोप उनी माथि छ। अहिले उनका मल कारखाना र चिप्स उद्योग कहाँ पुगे ? भन्ने प्रश्न जनताले उठाइरहेका छन्।
चुनाव जित्न कलाकार भुवन केसी र प्रदीप खड्कालाई नवलपरासी उतारेर मतदाता प्रभावित पारेका उनले चौपत्ताको आमसभामा नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा र तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समेत बोलाएर समर्थनमा भाषण गर्न लगाएका थिए । सभामा प्रचण्डले चौधरीलाई ‘यस क्षेत्रका लागि वरदान’ भनेका थिए भने देउवाले मल कारखाना खोल्ने आश्वासन दिएका थिए।
तर ती सबै आश्वासन कागजमै सीमित भएपछि अहिले मतदातामा असन्तुष्टि छाएको छ । पैसाको बलमा सधैं चुनाव जित्न सकिन्छ भन्ने घमण्ड पालेका चौधरीको हरेक गतिविधिको हिसाब–किताब अब जनताले राख्न थालेको स्थानीय बताउँछन् ।