

परासी, २६ पुस । पौडेल वंशको मूल, इतिहास र पहिचान भावी पुस्तासम्म सुरक्षित राख्ने उद्देश्यसहित पौडेल वंश महासंघ पश्चिम नवलपरासीले वंशावली निर्माण कार्यलाई तीव्र रूपमा अघि बढाएको छ।
वंशावलीले नयाँ पुस्तालाई आफ्ना पुर्खा, परम्परा र सांस्कृतिक पहिचान बुझ्न महत्वपूर्ण योगदान पु¥याउने महासंघले जनाएको छ ।
पौडेल वंश महासंघ लुम्बिनी प्रदेशको सर्कुलरअनुसार नवलपरासी जिल्लामा बसोबास गर्दै आएका पौडेल तथा पौड्यालहरूको वंशावली संकलन कार्य हाल अन्तिम चरणमा पुगेको महासंघका जिल्ला अध्यक्ष धनञ्जय पौडेललले शनिबार सुनवल हिलपार्कमा आयोजित बन्धु मिलन तथा वनभोज कार्यक्रममा बोल्दै उक्त जानकारी गराउनुभएको हो । उहाँले सम्पूर्ण पौडेल बन्धुहरूलाई वंशावली निर्माणमा सक्रिय सहभागिता जनाउन आग्रह गर्नुभयो।
अध्यक्ष पौडेलका अनुसार पौष महिनाभित्र जिल्लाभरिका पौडेल वंशको वंशावली संकलन गरी प्रदेश समितिमार्फत प्रकाशन गर्ने तयारी भइरहेको छ। यसका लागि प्रत्येक परिवारले आ–आफ्नो वंशावली तयार गरी महासंघका जिल्ला वा पालिका स्तरीय समितिका पदाधिकारीलाई शीघ्र बुझाउन अनुरोध गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि महासंघका केन्द्रीय उपाध्यक्ष शालिकराम पौडेलले वंशावली निर्माण कार्य अघि बढेकोमा खुशी व्यक्त गर्दै वंशीय एकता अझ सुदृढ बनाउन सबैलाई आह्वान गर्नुभयो। उहाँले पौडेल वंशको कूलपूजाको विधि र समयलाई एकरूपता दिने प्रयास भइरहेको जानकारी गराउँदै अन्य थर प्रयोग नगरी ‘पौडेल’ थर नै लेख्न अनुरोध गर्नुभयो।
पौडेल वंश महासंघ लुम्बिनी प्रदेशका सचिवालय सदस्य रामचन्द्र पौडेलले वंशावली निर्माणसँगै संस्कार संरक्षण र सामाजिक समन्वयलाई सशक्त बनाउँदै एकताबद्ध रूपमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा सुनवल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेल, दिव्यज्योति बहुमुखी क्याम्पस बर्दघाटका अध्यक्ष पुण्यप्रसाद पौडेल, प्राध्यापक कृष्णबन्धु पौडेल, समाजसेवी जीतबहादुर पौडेल, महिला नेतृ सरिता पौडेल, महासंघका जिल्ला उपाध्यक्ष विष्णुप्रसाद पौडेल, जिल्ला सचिव मोहन पौडेल, कुलपुजा समितिका जिल्ला संयोजक कृष्णप्रसाद पौडेल,सुनवल नगर अध्यक्ष विष्णु पौडेल लगायतले पौडेल वंशको इतिहास, परम्परा, संस्कृति र आपसी भाइचारा मजबुत बनाउने विषयमा आ–आफ्ना धारणा राख्नुभएको महासंघका जिल्ला सदस्य तिलकप्रुसाद पौडेलले जानकारी दिनुभयो ।
आपसी सद्भाव, भाइचारा र वंशीय एकता सुदृढ गर्ने उद्देश्यले पौडेल वंश महासंघ नवलपरासीले सुनवल नगर समितिको समन्वयमा आयोजना गरेको उक्त बन्धु मिलन तथा वनभोज कार्यक्रममा जिल्लाभरिका पौडेल वंशका बन्धुहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूबीच आपसी चिनजान, अनुभव आदान–प्रदान, सांस्कृतिक मनोरञ्जन तथा सामूहिक भोजनमार्फत आत्मीयता अझ प्रगाढ बनाइएको थियो।
