

परासी, ३० असोज । मानवताको सेवासँगै विपद् तथा प्रकोप व्यवस्थापनमा नेपाल रेडक्रस सोसाइटीले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय रहेको पश्चिम नवलपरासी क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य नरेन्द्र कुमार गुप्ताले बताउनुभएको छ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नवलपरासीले विजयादशमी, दीपावली तथा छठ पर्वको अवसरमा परासीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सांसद गुप्ताले दुःख र विपद्का बेला रेडक्रसले मानवीय सेवामार्फत आफ्नो कर्तव्य प्रभावकारी रूपमा पूरा गर्दै आएको उल्लेख गर्नुभयो।
“मानवतालाई जीवित राख्न रेडक्रसले महत्वपूर्ण सन्देश दिन सफल भएको छ”,उहाँले भन्नुभयो। विपद् तथा प्रकोपका समयमा रेडक्रसले पु¥याउँदै आएको सेवा र सहयोगले जिल्लामा सकारात्मक प्रभाव पारेको उहाँको भनाइ थियो।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले चाडपर्वलाई मर्यादित, सभ्य र शान्तिपूर्ण रूपमा मनाउन आग्रह गर्नुभयो। चाडपर्वका नाममा हुने अमर्यादित गतिविधि नियन्त्रण गर्दै सामाजिक सद्भाव र आपसी भाइचारा कायम राख्नुपर्नेमा उहाँले जोड दिनुभयो।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका सभापति राजेन्द्रप्रसाद अग्रहरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष नगेन्द्र अग्रहरी, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका सदस्य ओमप्रकाश अग्रहरी, रेडक्रसका विशिष्ट सदस्य वीरेन्द्र अग्रहरी, जिल्ला शाखाका उपसभापति कृष्णप्रसाद लामिछाने तथा रेडक्रस कुश्मा उपशाखाका सभापति सुरेन्द्र पटेललगायतले विजयादशमी, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त गर्नुभएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका कार्यकारी सदस्य अर्जुनबहादुर क्षत्रीले जानकारी दिनुभएको हो।