

परासी,२६ असोज । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ स्थित यस मोड नजिकै यात्रुवाहक बस अनियन्त्रित भई पल्टिँदा पाँच जना घाइते भएका छन्।
सोमबार बिहान करिब ७ः३० बजे काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको सुदूरपश्चिम यातायातको सु.प्र.०१–००१ ख २३३० नम्बरको बस अचानक अनियन्त्रित भई सडकमा पल्टिँदा बसमा सवार यात्रुहरू घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी डीएसपी मदन थापाका अनुसार बसमा करिब ४० देखि ४५ जना यात्रु सवार रहेकोमा पाँच जना घाइते भएको र उनीहरूलाई उपचारका लागि बर्दघाट नगर अस्पताल, चिसापानी पठाइएको छ ।
घाइतेमध्ये अछामको साँफेबगर नगरपालिका–५ की २६ वर्षीया मौसमी ओढको टाउकोमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको छ।
दार्चुलाको मालिकार्जुन गाउँपालिका–२ का ५२ वर्षीय पुष्कर सिंह धामीको बायाँ गाला र नाकमा सामान्य चोट लागेको छ।
दार्चुलाकै मार्मा गाउँपालिका–३ का ३० वर्षीय भग्वती अवस्थीको दायाँ कुहिनामा चोट लागेको छ भने सोही स्थानका ४८ वर्षीय धनञ्जय जोशीले ढाड दुखेको बताएका छन्।
कैलालीको लम्कीचुहा नगरपालिका–८ की २९ वर्षीया निर्मला खड्काको दायाँ खुट्टाको घुँडामा चोट लागेको छ। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
बसका चालक कैलालीको गौरीगंगा नगरपालिका–१० का ३९ वर्षीय इन्द्र विक रहेको र उनले मादक पदार्थ सेवन नगरेको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनापछि बस घटनास्थलमै रहेको भए पनि पूर्व–पश्चिम राजमार्गमा यातायात आवागमन पूर्ण रूपमा सुचारु रहेको डीएसपी थापाले बताउनुभयो ।