२०८३ भाद्र २६, शुक्रबार
24 खबर अपडेट

भोटेकोशी बाढीपीडितका लागि प्याब्सन नवलपरासीको ३१ लाख ४० हजार रुपैयाँ सहयोग

२०८३ भाद्र २६, शुक्रबार प्रकाशित ( घण्टा अघि) ३७ पाठक संख्या

परासी, २६ भदौ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) पश्चिम नवलपरासीले ३१ लाख ४० हजार रुपैयाँ सहयोग गरेको छ ।
प्याब्सन केन्द्रीय कार्यालय मार्फत प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरी जिल्लाका सदस्य विद्यालयहरूबाट संकलित उक्त रकम शुक्रबार प्याब्सनको केन्द्रिय राहत कोषमा जम्मा गरिएको प्याब्सन नवलपरासीले जनाएको छ ।

Pab2

बाढी तथा विपद्का कारण घरबार, सम्पत्ति तथा जीविकोपार्जनमा क्षति व्यहोरेका नागरिकको पीडामा साथ दिन प्याब्सनमा आवद्ध विद्यालय परिवार एकजुट भएको भन्दै प्याब्सन नवलपरासीका अध्यक्ष डम्बर गुरुङले सहयोग गर्ने सम्पूर्ण सदस्य विद्यालय, विद्यार्थी, शिक्षक, अभिभावक तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्नुभएको छ।
“विपद्को कठिन घडीमा विद्यालयहरूले देखाएको एकता, सद्भाव, सहयोगी भावना तथा सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धता प्रशंसनीय रहेको छ”, उहाँले भन्नुभयो ।
“विपद्मा हाम्रो साथ, मानवताका लागि हाम्रो योगदान” भन्ने भावनाका साथ गरिएको यो सहयोगले राहत मात्र नभई संकटका बेला सामाजिक संस्था तथा शैक्षिक क्षेत्रले निर्वाह गर्नुपर्ने जिम्मेवारीको समेत उदाहरण प्रस्तुत गरेको अध्यक्ष गुरुङको भनाइ छ ।
राहत अभियानमा जिल्लाका ५७ विद्यालयको सामूहिक सहभागिताले विपद्मा मानवीय संवेदना र सामाजिक एकताको सन्देशसमेत दिएको भन्दै अध्यक्ष गुरुङले भन्नुभयो, “विपद्को पीडामा मल्हम लगाउनु हाम्रो सामाजिक दायित्व हो, विद्यालयले विद्यार्थीलाई किताबको ज्ञानसँगै मानवीयता र सामाजिक उत्तरदायित्वको पाठ पनि सिकाउनुपर्छ।”

Pab 1

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस