

परासी, १२ साउन । नवलपरासी उद्योग वाणिज्य संघले जाँचका नाममा वैधानिक रूपमा व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीलाई अनावश्यक रूपमा दुःख नदिन जिल्ला प्रशासन र प्रहरीलाई ध्यानाकर्षण गराएको छ। उद्योगबाट तौल केन्द्र (धर्मकाँटा)सम्म सामान लैजाने क्रममा प्रहरीले नियन्त्रणमा लिएर भन्सार कार्यालय पठाउने कार्य बढेपछि व्यवसायीहरू आक्रोशित बनेका हुन्।
रामग्राम–१० मन्झरियास्थित रामग्राम सिड कम्पनीबाट तौल केन्द्र(धर्मकाँटा)मा तौलका लागि लैँजादै गर्दा सोमबार प्रहरीले गहुँ लोड गरिएको ट्रक नियन्त्रणमा लिएर भन्सार चलान गरेपछि व्यवसायी आक्रोसित भएका हुन् ।
यस विषयमा संघका नवनिर्वाचित अध्यक्ष नगेन्द्र अग्रहरी, पूर्व अध्यक्ष तथा प्रदेशसभा सदस्य बैजनाथ जयसवालसहितको टोलीले मंगलबार प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाल र जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीसँग भेट गरी कानुनको पालना गर्दै व्यवसाय गरिरहेका उद्योगी–व्यवसायीलाई जाँचका नाममा अनावश्यक हैरानी नदिन आग्रह गरेको हो ।

संघका अध्यक्ष अग्रहरीले मुलुकको आर्थिक गतिविधि नै सुस्ताएको र व्यवसाय धरासायी बन्दै गएको वर्तमान अवस्थामा राज्यका निकायबाट हुने अनावश्यक नियन्त्रण र दुःखले व्यवसायीको मनोबल थप कमजोर बनाउने काम भएको बताउनुभयो ।
उद्योगबाट धर्मकाँटासम्म सामान लैजाने प्रक्रियालाई तस्करीको आशंकासँग जोडेर नियन्त्रणमा लिने प्रवृत्तिले वैधानिक व्यवसाय नै प्रभावित भएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “तस्करी नियन्त्रण गर्नुहोस् त्यसमा हाम्रो पनि साथ रहन्छ तर कानून बमोजिम सञ्चालन भइरहेका उद्योग व्यवसायलाई अनावश्यक धरपकड गरेर व्यवसायीलाई आतंकित बनाउने काम मान्य हुँदैन ।”
आवश्यक अनुसन्धान र छानविन विनै भन्सार चलान गरिएको भन्दै व्यवसायीले आक्रोस पोखेका थिए । प्रदेशसभा सदस्य बैजनाथ जयसवालले बैधानिक व्यवसायमा अनावश्यक अवरोध सिर्जना गर्ने कार्य नरोकिए सशक्त प्रतिरोध गर्ने चेतावनी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामबहादुर केसीले आवश्यक बिल तथा कागजात नहुँदा केही सामान नियन्त्रणमा लिएर भन्सार कार्यालय पठाइएको स्पष्ट पार्नुभयो । उहाँले प्रहरीको उद्देश्य व्यवसायीलाई दुःख दिने नभई कानुन कार्यान्वयन गराउने रहेको बताउँदै अबदेखि उद्योगबाट तौल केन्द्रसम्म सामान लैजाँदा त्यसको उद्देश्य र विवरण स्पष्ट खुल्ने आवश्यक कागजात साथमा राख्न व्यवसायीलाई आग्रह गर्नुभयो ।
व्यवसायी र प्रशासन तथा प्रहरीबीच भएको छलफलमा कानुनी प्रक्रिया सहज बनाउँदै वैधानिक व्यवसायमा अनावश्यक अवरोध सिर्जना नहुने वातावरण बनाउन दुवै पक्ष सहमत भएको संघका कोषाध्यक्ष गिरीराज पाण्डेयले जानकारी दिनुभयो ।

