२०८३ अषाढ ३, बुधबार
24 खबर अपडेट

पाल्हीनन्दन गाउँपालिकाद्धारा उत्कृष्ट कर्मचारी र जनप्रतिनिधि सम्मानित

२०८३ अषाढ ३, बुधबार प्रकाशित ( घण्टा अघि) ७१ पाठक संख्या

परासी, ३ असार । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले २१ औँ गाउँसभाको अवसरमा विभिन्न क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मी तथा जनप्रतिनिधिलाई नगदसहित सम्मान गरेको छ।
गाउँपालिकाले सेवा प्रवाह, विपद् व्यवस्थापन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, राजस्व संकलन तथा स्थानीय शासनमा उल्लेखनीय योगदान पु¥याउने व्यक्तिहरूलाई सम्मान गरेको हो ।
गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता(दीपक)का अनुसार सेवा प्रवाहतर्फ लेखा अधिकृत सञ्जय कुमार शर्मा सर्वोत्कृष्ट कर्मचारी घोषित हुँदै नगद एक लाख रुपैयाँसहित सम्मानित हुनुभएको छ । सेवा प्रवाहतर्फ नै प्रमुख प्रशासकीय अधिकृत दिनेश कुमार गौड उत्कृष्ट कर्मचारीका रूपमा छनोट भई ९५ हजार रुपैयाँ प्राप्त गर्नुभयो ।
त्यसैगरी विपद् व्यवस्थापन तथा प्रशासनिक कार्यमा उत्कृष्ट योगदान पु¥याएको भन्दै विपद् व्यवस्थापन फोकल पर्सन प्रदीप कुमार तिवारी लाई ४० हजार रुपैयाँसहित सम्मान गरिएको छ भने कार्यालय सहयोगी सुरेश कोँहार सेवा प्रवाहतर्फ उत्कृष्ट कर्मचारीका रूपमा १४ हजार रुपैयाँसहित सम्मानित हुनुभएको छ ।
पूर्वाधार विकासमा सब–इन्जिनियर बेचन प्रजापति, शंकर कुर्मी तथा प्राविधिक सहायक दिपेन्द्र धवल, राजस्व संकलनमा कर अधिकृत नविन विष्ट, नागरिक समाज सेवामा एमआइएस अपरेटर देवव्रत चौधरी तथा भूमि व्यवस्थापनमा अमिन नरेन्द्र यादव सम्मानित हुनुभएको छ ।
शिक्षा क्षेत्रतर्फ विभिन्न सामुदायिक विद्यालयका आठ जना शिक्षकलाई सम्मान गरिएको छ। सम्मानित हुनेमा शिक्षकहरुमा राजनारायण मावि गेर्मीका बेचन हरिजन,पाल्ही भगवति आधारभूत विद्यालय पाल्हीका पुरुषोत्तम गुप्ता,सहिद जगदीश पासवान आधारभूत विद्यालय पडरीका अर्जुनप्रसाद यादव,राधाकृष्ण मावि विष्णुपुरका दयाराम बानिया गुप्ता, जनता मावि लोहरौलीका चन्द्रकेश यादव,शुकदेव मावि सनइका केशव प्रसाद केवट,सिद्धार्थ मावि कुश्माका नाथुप्रसाद चौधरी र हरपुर माविका स्वयंसेवक शिक्षक दिनेश तेली रहनुभएको छ ।
त्यसैगरी स्वास्थ्य क्षेत्रबाट जनस्वास्थ्य निरीक्षक बृजेश यादव, उमेश गौड तथा अस्पताल नर्सिङ निरीक्षक रचना साहु सम्मानित हुनुभएको छ। जनप्रतिनिधितर्फ गाउँपालिका उपाध्यक्ष फातुमा खातुन अन्सारीलाई व्यय निरुपण कार्यमा योगदान पु¥याएबापत सम्मान गरिएको छ। सबैभन्दा बढी कर संकलन गर्ने वडा नं. ३ का वडा अध्यक्ष गोधन हरिजन तथा पूर्वाधार विकास, पर्यटन प्रवद्र्धन र सेवा प्रवाहमा उल्लेखनीय भूमिका निर्वाह गर्ने वडा नं. ४ का वडा अध्यक्ष रविन्द्र सहानी पनि सम्मानित हुनुभएको छ ।
गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता (दीपक) ले उत्कृष्ट कार्य गर्ने कर्मचारी र जनप्रतिनिधिलाई सम्मान गर्दा कार्यसम्पादनमा प्रतिस्पर्धा, उत्तरदायित्व र सेवामुखी भावना अझ बलियो बन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले स्थानीय सरकारको प्रभावकारी सेवा प्रवाहका लागि कर्मचारी र जनप्रतिनिधिको समर्पण तथा मेहनत प्रशंसनीय रहेको बताउनुभयो ।
गाउँसभाको अवसरमा गरिएको सम्मान कार्यक्रमले गाउँपालिकामा उत्कृष्ट कार्य गर्ने व्यक्तिहरूको मनोबल उच्च बनाउनुका साथै सेवा प्रवाहलाई अझ प्रभावकारी र परिणाममुखी बनाउन सकारात्मक सन्देश दिएको प्रमुख प्रशासकीय अधिकृत दिनेश गौडेले बताउनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस