

परासी,३ असार । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि रु ५१ करोड १२ लाख २ हजारको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको बुधबार सम्पन्न २१औँ गाउँसभामा उपाध्यक्ष फातिमा खातुन अन्सारीले बजेट प्रस्तुत गर्दै विकास निर्माण, सेवा प्रवाह र सुशासनलाई केन्द्रमा राखिएको बताउनुभयो।
प्रस्तुत बजेट अनुसार चालू खर्चतर्फ रु ३२ करोड २५ लाख ७२ हजार र पूँजीगत खर्चतर्फ रु १८ करोड ८६ लाख ३० हजार विनियोजन गरिएको छ। कुल बजेटमध्ये पूर्वाधार विकासमा सबैभन्दा ठूलो हिस्सा छुट्याइएको छ।
गाउँपालिकाले क्षेत्रगत रूपमा पूर्वाधार विकासतर्फ रु १६ करोड ९० लाख विनियोजन गरेको छ भने आर्थिक विकासका लागि रु ३ करोड १० लाख, सामाजिक विकासतर्फ रु ५ करोड ५० लाख, वन, वातावरण तथा विपद व्यवस्थापनतर्फ रु १ करोड २५ लाख छुट्याएको छ। त्यस्तै, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि रु १९ करोड २२ लाख र संस्थागत विकास, सेवा प्रवाह तथा सुशासन प्रवर्द्धनका लागि रु ६ करोड ५० लाख विनियोजन गरिएको छ।
आयतर्फ गाउँपालिकाले आन्तरिक स्रोतबाट रु ८८ लाख ४४ हजार संकलन हुने अनुमान गरेको छ। संघीय सरकारबाट वित्तीय समानिकरण अनुदान रु ११ करोड ३४ लाख, सशर्त अनुदान रु २१ करोड ६ लाख, राजस्व बाँडफाँडतर्फ रु ९ करोड ८० लाख र सम्पूरक अनुदानतर्फ रु ३० लाख प्राप्त हुने अपेक्षा गरिएको छ।
प्रदेश सरकारतर्फबाट समानिकरण अनुदान रु ७८ लाख ९० हजार, राजस्व बाँडफाँड रु १ करोड ७४ लाख १८ हजार र सम्पूरक अनुदान रु ७० लाख आउने अनुमान गरिएको छ। साथै, गत आर्थिक वर्षको बैंक मौज्दात रु ३ करोड ५० लाख रहेको जनाइएको छ।
गाउँपालिकाले प्रस्तुत गरेको बजेटले स्थानीय पूर्वाधार विस्तार, आर्थिक गतिविधि प्रवर्द्धन र सेवा प्रवाहमा सुधार ल्याउने अपेक्षा गरिएको गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता ( दीपक) ले बताउनुभयो ।
सभामा अध्यक्ष गुप्ताले आगामी वर्षको नीति तथा कार्यक्रम पेश गर्नुभएको थियोे । प्रमुख प्रशासकीय अधिकृत दिनेश गौडले गाउँपालिकाले विगतको छविलाई सुधार गर्दै विकास,सुशासन र पार्दर्शितालाइ केन्द्रमा राखेर अघि बढेको बताउनुभयो ।
