२०८३ अषाढ २, मंगलबार
24 खबर अपडेट

सुस्ताको पछिल्लो गतिविधिबारे चिन्ता व्यक्त गर्दै एमाले सुस्ताले भन्यो : कूटनीतिक पहल गरियोस्

२०८३ अषाढ २, मंगलबार प्रकाशित ( घण्टा अघि) ५६ पाठक संख्या

परासी, २ असार । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुस्ता गाउँपालिका कमिटीले सुस्ता क्षेत्रको सीमा संवेदनशीलतासम्बन्धी पछिल्लो गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
बिहीबार प्रेस विज्ञप्तिमार्फत कमिटीले सुस्ता क्षेत्रमा देखिएको गतिविधिले नेपालको सार्वभौमसत्ता, राष्ट्रिय स्वाभिमान र ऐतिहासिक अस्तित्वमाथि प्रत्यक्ष चुनौती सिर्जना गरेको उल्लेख गरेको छ।
पालिका कमिटी अध्यक्ष खगेन्द्र अर्याल (राजु) द्धारा हस्ताक्षरित विज्ञप्तिमा सुस्ता केवल भौगोलिक भूभाग मात्र नभई राष्ट्रिय पहिचान र अस्तित्वको जीवित प्रतीक भएको उल्लेख गर्दै त्यहाँ हुने कुनै पनि हस्तक्षेप, अतिक्रमण वा राष्ट्रहितविपरीतका गतिविधि सम्पूर्ण नेपालीको भावना विपरीत हुने स्पष्ट पारिएको छ।
“राष्ट्रको सुरक्षा केवल हातहतियारको शक्तिले मात्र होइन, स्पष्ट राष्ट्रिय दृष्टिकोण, प्रभावकारी कूटनीति, सक्षम राज्य संयन्त्र र नागरिक एकताबाट सुनिश्चित हुन्छ,” विज्ञप्तिमा भनिएको छ।
एमाले सुस्ता गाउँपालिका कमिटीले नेपाल सरकारसँग सुस्ता क्षेत्रको सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन, नेपाली भूभागको संरक्षण सुनिश्चित गर्न तथा स्थानीय नागरिकको सुरक्षा र अधिकार प्रत्याभूति गर्न आवश्यक कूटनीतिक तथा प्रशासनिक पहल तत्काल अघि बढाउन जोडदार माग गरेको छ।
साथै, संवेदनशील विषयमा सम्पूर्ण सुस्तावासी,राजनीतिक दल, स्थानीय तह र आम नागरिकबीच संयम, एकता र राष्ट्रिय हितप्रतिको प्रतिबद्धता आवश्यक रहेको औंल्याइएको छ। “राष्ट्रियताको सवाल कुनै दल विशेषको एजेन्डा नभई सम्पूर्ण नेपालीको साझा पहिचान हो,” विज्ञप्तिमा भनिएको छ।
विज्ञप्तिमा कमजोर नेतृत्व र घट्दो नागरिक चेतनाले राष्ट्रिय अस्तित्वमै संकट आउन सक्ने चेतावनी दिँदै राष्ट्रको सुरक्षा र स्वाभिमान जोगाउन सबै पक्ष सजग हुनुपर्ने उल्लेख गरिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस