२०८३ बैशाख १८, शुक्रबार
24 खबर अपडेट

मुक्तिनाथ विकास बैंक गोपीगञ्ज शाखाद्वारा छात्रवृत्ति हस्तान्तरणसँगै वित्तीय सचेतना अभिवृद्धि

२०८३ बैशाख १८, शुक्रबार प्रकाशित ( घण्टा अघि) ७६ पाठक संख्या

परासी, १८ वैशाख । “जनता बैंकमा होइन, बैंक जनतामा जानुपर्छ” भन्ने मूल नारालाई व्यवहारमा उतार्दै मुक्तिनाथ विकास बैंक लिमिटेड गोपिगंज शाखाले नवलपरासीस्थित राष्ट्रिय माध्यमिक विद्यालय छिवनीमा उत्कृष्ट छात्रवृत्ति हस्तान्तरण तथा वित्तीय सचेतना कार्यक्रम सम्पन्न गरेको छ।
सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजित उक्त कार्यक्रममा कक्षा ११ मा अध्ययनरत छात्रा सविना महतोलाई “मुक्तिनाथ उत्कृष्ट छात्रवृत्ति” प्रदान गरिएको थियो। बैंकले शिक्षामा लगानी गर्दै विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणमा सहयोग पु¥याउने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरेको शाखा प्रबन्धक सागर अर्यालले बताउनुभयो । “हामी बैंकिङ सेवा मात्र दिने संस्था होइनौं, समाज रूपान्तरणमा साझेदार बन्न चाहन्छौं, विद्यार्थीहरूमा वित्तीय साक्षरता विकास गर्नु आजको आवश्यकता हो।” उहाँले भन्नुभयो ।
छात्रवृत्ति प्राप्त गरेपछि विद्यार्थी सविना महतोले आफ्नो अनुभूति व्यक्त गर्दै भन्नुभयो “यो छात्रवृत्तिले मलाई अझ राम्रो अध्ययन गर्न प्रेरणा दिएको छ, बैंकप्रति धन्यवाद दिन चाहन्छु।”
कार्यक्रममा कक्षा ११ का सम्पूर्ण विद्यार्थीहरूलाई लक्षित गर्दै वित्तीय साक्षरताको महत्व, बचत गर्ने बानी, डिजिटल बैंकिङ, तथा सुरक्षित आर्थिक व्यवहारबारे अन्तरक्रियात्मक प्रस्तुति गरिएको थियो। सहभागी विद्यार्थीहरूले बैंकिङ प्रणाली, मोबाइल बैंकिङ, डिजिटल भुक्तानी र दैनिक जीवनमा वित्तीय अनुशासनको महत्वबारे व्यावहारिक जानकारी प्राप्त गरेका थिए।

Picture2

विद्यालयका प्रधानाध्यापक अर्जुन प्रसाद पाण्डेयले यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई पाठ्यपुस्तकभन्दा बाहिरको ज्ञान दिने बताउँदै वित्तीय रूपमा सचेत विद्यार्थी नै भविष्यका जिम्मेवार नागरिक बन्न सक्ने उल्लेख गर्नुभयो ।
विद्यार्थीहरूबीच प्रश्नोत्तर तथा छलफल समेत गरिएको थियो, जसले कार्यक्रमलाई थप जीवन्त र प्रभावकारी बनाएको थियो। विद्यार्थीहरूले डिजिटल माध्यमबाट कसरी सुरक्षित र सजिलो तरिकाले आर्थिक कारोबार गर्न सकिन्छ भन्नेबारे उत्साहपूर्वक जिज्ञासा राखेका थिए।
बैंकका अनुसार, शिक्षा र वित्तीय साक्षरताको संयोजनले मात्र दीगो विकास सम्भव हुने भएकाले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ। साथै, स्थानीय विद्यालय र समुदायसँग सहकार्य गर्दै वित्तीय पहुँच विस्तार गर्ने योजना रहेको बैंकले जनाएको छ । कार्यक्रममा करिब २५० भन्दा बढी विद्यार्थी, शिक्षक तथा व्यवस्थापन समितिका पदाधिकारीहरूको सक्रिय सहभागिता रहेको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस