२०८३ बैशाख ९, बुधबार
24 खबर अपडेट

वैशाख १४ गते सरावल गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने तयारी

२०८३ बैशाख ९, बुधबार प्रकाशित ( घण्टा अघि) १०४ पाठक संख्या

मोहन पौडेल
परासी,९ वैशाख । पश्चिम नवलपरासीको सरावल गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गर्ने तयारी गरिएको छ ।  गाउँपालिकाले आगामी वैशाख १४ गते औपचारिक रूपमा “पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका” घोषणा गर्ने लक्ष्यसहित अन्तिम तयारी तीव्र पारेको जनाएको छ।
सोही सन्दर्भमा बुधबार जिल्ला खोप समन्वय समिति, स्वास्थ्य कार्यालयका प्रतिनिधि तथा पत्रकारसहितको संयुक्त टोलीले सरावल गाउँपालिकामा जिल्ला स्तरीय अनुगमन गरेको छ। अनुगमनपछि खोप कार्यक्रमको अवस्थाबारे भेरिफिकेसन (प्रमाणीकरण) प्रक्रिया समेत सम्पन्न गरिएको स्वास्थ्य कार्यालय नवलपरासीका खोप अधिकृत भेषराज शर्माले दैनिक24 खबर डटकमलाई जानकारी दिनुभयो ।
अनुगमन टोलीले गाउँपालिकाभित्रका बालबालिकालाई आवश्यक सबै खोप नियमित रूपमा प्रदान गरिएको,छुटेका बालबालिकालाई अभियानमार्फत खोप प्रदान गरिएको,स्वास्थ्य चौकीहरुको छुट्टाछुट्टै तथा पालिका स्तरीय सुक्ष्म योजनाको अभिलेख व्यवस्थापन सुदृढ रहेको तथा खोप सुनिश्चितताका सूचकहरू पूरा भएको निष्कर्ष निकालेको शर्माले बताउनुभयो ।
गाउँपालिकाले यस उपलब्धिलाई दीगो रूपमा कायम राख्न जनचेतना अभिवृद्धि, नियमित अनुगमन तथा स्वास्थ्य संस्थाहरूको क्षमता सुदृढीकरणमा निरन्तरता दिने गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले बताउनुभयो ।
पालिकाका स्वास्थ्य शाखाका प्रमुख ओमनारायण देवकोटाका अनुसार पूर्ण खोप सुनिश्चितता स्थानीय तह घोषणाका लागि गर्नुपर्ने सबै प्रक्रिया पूरा गरि बालबालिकाले १५ महिना भित्र पाउनुपर्ने सबै प्रकारका खोप सुविधा प्राप्त गरेको सुनिश्चितता गरिएको बताउनुभयो ।
पालिका स्तरीय खोप समन्वय समितिले गत चैत ३० गते जिल्ला खोप समन्वय समितिलाई घोषणाका लागि प्रमाणिकरण गरिदिन सिफारिस गरेको थियोे ।
पूर्ण खोप सुनिश्चितता घोषणा भएपछि सरावल गाउँपालिका बालबालिकालाई खोपबाट जोगाउन सकिने रोगहरूको जोखिमबाट सुरक्षित बनाउने दिशामा महत्वपूर्ण फड्को मार्ने विश्वास गरिएको स्वास्थ्य कार्यालयका वरिष्ठ मलेरिया निरीक्षक देविलाल पौडेलले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस