२०८३ आश्विन १७, शनिबार
24 खबर अपडेट

आपसी विवादले सुस्तामा निर्माणाधिन खानेपानी आयोजनाको काम पाँच महिनादेखि ठप्प

२०७८ जेष्ठ २९, शनिबार प्रकाशित (५ साल अघि) १०७० पाठक संख्या

परासी, २९ जेठ – भारतीय अतिक्रमणको चपेटामा पर्दै आएको सुस्तामा निर्माणाधिन खानेपानी आयोजनाको काम अवरुद्ध भएको छ । स्थानीयवासीबीचको आपसी विवादका कारण पाँच महीनादेखि आयोजनाको काम ठप्प भएको बताईएको छ ।
वर्षाैँदेखि आर्सेनिकयुक्त चापाकलको पानी पिउन बाध्य नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को सुस्ता गाउँपालिका—५ स्थित नारायणी नदीपारी सुस्ताका स्थानीयवासीलाई शुद्ध पिउने पानी उपलब्ध गराउन लुम्बिनी प्रदेश सरकारले गाउँपालिकाको सहकार्यमा आयोजना निर्माण थालेको थियो ।
२०७६ माघदेखि निर्माण शुरु भएको आयोजनाको काम गत माघ महीनादेखि अवरुद्ध रहेको खानेपानी तथा सरसफाई संस्था सुस्ताका अध्यक्ष मुन्सीकुमार हरिजनले जानकारी दिनुभयो । सुस्ता बचाउ अभियानका नेतृत्वकर्ताहरुले नै काम गर्न नदिएको उहाँको आरोप छ ।
पुरानो दर्तावाला संस्थामार्फत काम भईरहेकै बेला स्थानीय अगुवाहरुले नै अर्काे उपभोक्ता समितिसमेत गठन गरेर आफूहरुले काम गर्न पाउनुपर्ने भन्दै विवाद झिकेपछि निर्माण कार्यमा बाधा पुगेको संस्थाका अध्यक्ष हरिजन बताउनुहुन्छ ।
लामो प्रयासपछि आएको खानेपानी आयोजनाको काम अलपत्र परेपछि सुस्तावासी चिन्तित भएका छन् । तीन वर्ष भित्र निर्माण सम्पन्न गरी सुस्तावासीलाई शुद्ध पिउने पानी उपलब्ध गराउने गरी आयोजनाको निर्माण थालिएको थियो ।
गत वर्ष बोरिङ्गको काम सफल भएपछि दुई डिप ट्युबेल गाडिएको संस्थाले जनाएको छ । यसवर्ष आयोजनाको क्षेत्र चारैतिरबाट पर्खालले घेर्ने, माटो पुर्ने र गेट निर्माण गर्ने कार्य भईरहेको थियो । “हामीले अहिलेसम्म रु ४१ लाखको काम सम्पन्न गरी थप निर्माण कार्य अघि बढारहेका थियौँ, तर अहिले आएर विवाद नमिल्दा काम ठप्प भयो”, अध्यक्ष हरिजनले भन्नुभयो ।
स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरुले पनि सहजीकरण गर्नुको साटो असहयोग गरेको हरिजनले बताउनुभयो । सुस्ता बचाउ अभियानका प्रवक्ता रबिन्द्र जयसवालले भने आफूहरु विकास विरोधी नभएको बताउनुभयो । खानेपानी आयोजनाका लागि जग्गा दान गरेका दुई जना मध्ये विजय गुप्तासँग संस्थाले समन्वय नगरी काम गर्दा असमझदारी बढेको उहाँको दाबी छ । सुस्ता बचाउ अभियानमा लामो समयदेखि लाग्नुभएका अभियानका अध्यक्ष गोपाल गुरुङ्को नेतृत्वमा उक्त काम हुनुपर्ने आफूहरुको माग रहेको उहाँले बताउनुभयो । जयसवालले करोडौँको योजना भएकोले टेन्डर मार्फत काम हुनुपर्ने जिकिर पनि गर्नुभयो ।
उक्त क्षेत्रमा खानेपानी ट्याङ्की निर्माणका लागि टेन्डर आह्वान भईसकेको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिनुभयो । “नेपाली भूमि रक्षा गर्दै आएका सुस्तावासीलाई आर्सेनिक र आईरनयुक्त पानी प्रयोग गर्नुपर्ने बाध्यता हटाई शुद्ध पिउने पानी उपलब्ध गराउन प्रदेश सरकार र गाउँपालिकको लागत साझेदारीमा काम भईरहेको छ”, उहाँले भन्नुभयो ।
पूरानो संस्थाले सम्झौता गरी काम अघि बढाईरहेका बेला अर्काे उपभोक्ता समिति गठन भएपछि विवाद भएको बताउँदै अध्यक्ष पाण्डेले गाउँपालिका र जिल्ला प्रशासन कार्यालयको रोहबरमाा दुवै समितिबाट प्रतिनिधित्व हुने गरी काम अघि बढाउने सहमति भएको उहाँले जानकारी दिनुभयो ।
आयोजनाको निर्माण सम्पन्न भएपछि यहाँका २६५ घरपरिवार शुद्ध पिउने पानीको पहुँचमा पुग्ने उहाँले बताउनुभयो । अहिले चापाकलको पानी पिउँदा विभिन्न रोग लाग्ने गरेकोले आयोजना सम्पन्न भएपछि शुद्ध पिउने पानी प्रयोग गर्न पाउनुका साथै रोगबाट पनि मुक्ती पाइने स्थानीय कमल हरिजनले बताउनुभयो ।
विसं.२०२२ सालदेखि बसोबास गर्दै आएका सुस्तावासी अहिलेसम्म शुद्ध पिउनेपानीको पहुँचबाट वञ्चित छन् । पछिल्लो पटक तीनै तहका सरकारले यहाँको विकासमा ध्यान दिन चालेपछि सुस्तावासी हर्षित छन् । तर आपसी विवादमा परेर विकासको कामलाई अवरोध गर्न नहुने स्थानीयको माग छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


↑