२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

पश्चिम नवलपरासीका अधिकांश मासु पसल फोहर र अव्यवस्थित, मापदण्ड पालना गर्न निर्देशन

२०८० कार्तिक २४, शुक्रबार प्रकाशित (0 महिना अघि) ४९८ पाठक संख्या

मोहन पौडेल
परासी, २४ कात्तिक । पश्चिम नवलपरासीमा सञ्चालित अधिकांश मासु पसल फोहर र अव्यवस्थित रुपमा सञ्चालनमा रहेको पाईएको छ । मासु पसलमा सरसफाइको कमी र अखाद्य पदार्थको प्रयोग हुँदा उपभोक्ताले गुणस्तरहीन मासु उपभोग गर्न बाध्य रहेको पाईएको हो ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पश्चिम नवलपरासीले आज सुनवल र बर्दघाट नगरपालिकामा सञ्चालित मासु, माछा पसलको अनुगमन गर्दा अधिकांश पसलले सरसफाइमा ध्यान नदिईएको भेटिएको हो । चाडपर्वको समयमा बढी उपभोग हुने मासुजन्य पदार्थमा गुणस्तरहीन र कालोबजारी नियन्त्रण गरि उपभोक्तालाई स्वच्छ र गुणस्तरीय मासु उपभोग गर्ने वातावरण बनाउन भेटेरिनरी अस्पतालको नेतृत्वमा संयुक्त रुपमा बजार अनुगमन गरिएको थियो ।
अधिकांश मासु पसलले आधारभूत मापदण्ड समेत पालना नगरेको भेटिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र परासीका प्रमुख श्रवण कुमार चौधरीले बताउनुभयो । अनुगमन टोलीले सुनवल नगरपालिकाको सुनवल, बडेरा र भूमही बजार तथा बर्दघाट नगरपालिकाको बर्दघाट बजार र हाटबजार टोलमा गरि १६ वटा मासु पसल, एक माछा पसल र आठ वटा एग्रोभेट गरि २२ वटा पसलको अनुगमन गरेको थियो ।
अनुगमन गरिएका मध्ये ६ वट मासु पसल नवीकरण विनै सञ्चालनमा रहेको पाईएको थियो भने अधिकांश मासु पसलहरुले खशी, कुखुरा र राँगा एकैठाउँमा वेच्ने गरेको, धेरै दिनदेखिको मासु विक्रीमा राखेको तथा खशी काटेपछि लगाईने रंग अखाद्य प्रयोग गरेको भेटिएको थियो । धेरैजसो मासु पसलमा फोहर, झिंगा भन्किएको,मासु सफा गर्ने ठाउँ फोहर रहेको,फ्रिज सफा नगरेको, फोहर पानीले नै मासु पखाल्ने गरेको, भुई भित्ता सजिलै सफा गर्न मिल्ने गरि मार्बल टायल नराखेको,मासु सफा गरेको पानी सजिलै जाने व्यवस्था नभएको, एप्रोन तथा पञ्जाको प्रयोग नगरेको, मासु काट्ने औजार र भाँडा सफा नगरेको , मूल्यसूची नराखेको तथा अनुमति विनै शाखा सञ्चालन गरेको लगायत सामान्य मापदण्ड पनि पूरा गर्न ध्यान नदिएको कार्यालय प्रमुख चौधरीले बताउनुभयो ।
बजार अनुगमन गर्दा मासु पसलले न्यूनतम मापदण्ड समेत पालना नगरेको देखिएकोले तत्काल मापदण्ड अनुसार सुधार गर्न निर्देशक दिएको र आगामी दिनमा हुने अनुगमनको क्रममा सुधार गरेको नदेखिएमा कानून बमोजिम कारवाही प्रक्रिया थालिने भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र परासीका प्रमुख चौधरीले जानकारी दिनुभयो ।
अनुगमन टोलीले ८ वटा एग्रोभेटको अनुगमन गर्दा दुई वटा पसल औषधी व्यवस्था विभागमा दर्ता नभएको पाईएको छ । त्यस्ता पसललाई तत्काल सम्बन्धित निकायमा दर्ता गरेर मात्र सञ्चालन गर्न निर्देशन गरिएको छ । भेटेरिनरी अस्पतालसहित पशु चिकित्सक, घरेलु तथा साना उद्योग कार्यालय, स्वास्थ्य कार्यालय, स्थानीय तह, उपभोक्ता हित संरक्षण मञ्च, नेपाल पत्रकार महासंघ, सुरक्षाकर्मी लगायतको सहभागितामा अनुगमन गरिएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस